चुम्लिङटार घटनामा मृतकको संख्या ७ पुग्यो
काठमाडौं । पृथ्वी राजमार्गको चुम्लिङटारमा बस र ट्रक जुध्दा मृत्यु हुने ७ जनाको सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा घटनास्थलमा ४ जनाको शव भेटिएको थियो भने ३ जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।
घटनास्थलमा मृत्यु हुनेमा दुई महिला र दुई पुरूष छन् । प्रहरीले २५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएको थियो । तिनैमध्ये तीन जनाको मेडिकल कलेजमा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा पाल्पा बेगनासकालिकाका ३२ को अर्जुन न्यौपाने, तनहुँ भानु नगपालिका ५ का सुमित श्रेष्ठ, तनहुँ केशवटारका बाबुराम तिवारी, तनहुँकै कमला श्रेष्ठ, काठमाडौंका रबिन गुरुङको पहिचान भएको छ । सो घटनामा परी मृत्यु भएका एक वालक र एक युवतीको पहिचान हुन सकेको छैन ।
चितवन शक्तिखोर क्रिस गुरुङ, पोखरा भक्तबहादुर बस्नेत र भारत बिहार बेतिया बस्ने फिरोज मियाको अवस्था गम्भीर छ । सो घटनामा परी बस चालक स्याङजा पुतली बजारका उदयराज लामिछाने पनि घाइते छन् ।
त्यसैगरी सन्तोष सुवेदी, नुवाकोट बिदुरका सौजन गजुरेल, पोखराका मेघबहादुर पुन र तनहुँ डुम्रे भन्सारका बिष्णुकुमार श्रेष्ठ घाइते छन् । उनीहरुको गजुरी र भरतपुरमा उपचार भइरहेको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको थियो । ट्रकसँग ठोक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशूली नदीतर्फ खसेको छ ।
प्रतिकृया दिनुहोस