तत्काल ‘भारी वर्षा’ को सम्भावना छैन, प्रदेश -१ का केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने
काठमाडौं । देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर रहेकाले तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए । उनका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण अहिले प्रदेश -१ का केही ठाउँमा पानी परिरहेको छ । तर निरन्तर पानी पर्ने सम्भावना भने छैन ।
एकछिन बद्ली हुँदै फेरि घाम लाग्ने उनले बताए । झापा आसपासको क्षेत्रमा चट्याङ्ग पार्ने बादलको विकास भइरहेकाले दिउँसोसम्ममा चट्याङ्गसहितको सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।
तर आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौँ उपत्यकामा शनिबार बिहान घाम लागेको छ ।
आज दिउँसो र राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस