ओलीले एमसीसी उपाध्यक्षलाई भने, सभामुखले नै एमसीसी रोके
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा बिहीबार भेट्न आइपुगेकी एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् ।
अध्यक्ष ओलीले नेपालमा एमसीसी कार्यान्वयन सभामुख र केही व्यक्तिहरूले रोकेको बताएका छन् । अहिले आफूहरू प्रतिपक्षमा रहेको र भूमिका बदलिएको पनि ओलीले एमसीसी टोलीलाई बताए ।
विपक्षीमा हुँदा पनि सरकारमा हुँदा झैँ काम गर्न नमिल्ने भन्दै ओलीले हाल सत्तारुढ दलले अहिलेसम्म एमसीसीबारे कुनै नगरेको पनि जनाए । यो अवस्थालाई यही हिसाबले बुझिदिन ओलीले आग्रह गरे र भ्रमण सफलताको शुभकामना पनि दिए ।
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएका हुन् ।
‘हामिले हतारिएर पोजिसन बनाउँदैनौँ । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ उनले भने ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’
विहिबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन् । सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँग गरेकी हुन् ।
ओलीलाई भेट्न सुमारसहित एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि दिउँसो उनको निवास बालकोट पुगेका हुन् । ओलीको सचिवालयले जनाए अनुसार एमसीसी टोलीले ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।
उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने तालिका छ । भोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरुसाग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शेरबहादेर देउवासँगको भेट भने भोली ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने जनाइएको छ । नेपालको चारदिने भ्रमणका लागि विहिबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् ।
उपाध्यक्ष सुमारले काठमाडौं आउनुअघि एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दुतावासमार्फत जवाफ पठाएकी थिइन् । नेपाल आइपुगेका सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ ।
एमसीसी टोलीको विरोध हुने कार्यक्रम भएपछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।
प्रतिकृया दिनुहोस