एमसीसी प्रयोग गरेर सत्तागठबन्धन तोड्ने प्रयास भएको अध्यक्ष प्रचण्डको आरोप
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को २२औँ स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।
उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारे । गठबन्धनलाई बचाएर सकारात्मक रूपमा अघि बढ्न तयार रहेको उनले उल्लेख गरे ।
आफूहरूले गठबन्धनलाई बलियो बनाउन चाहे पनि अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप उनले । उनले माओवादीहरूलाई घेरा हालेर सिध्याउने षड्यन्त्र भएकाले सचेत रहनुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले नेकपा (एमाले) ले ‘डलर भित्र्याएर पार्टीभित्र गुट–उपगुट बलियो बनाउनु खोजेको’ आरोपसमेत लगाए । उनले सूर्य चिह्न र मदन भण्डारीको नाम प्रयोग गरेर एमाले नेतृत्वले पदका लागि मात्र राजनीति गरेको तर्क गरे ।
एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने भन्दै उनले पार्टीका नेता तथा कार्यकर्ता सजिलै रूपान्तरण नहुने अवस्था देखिएको बताए ।
प्रतिकृया दिनुहोस