निर्वाचनपछि एमाले पुनः सरकारमा फर्कने एमाले प्रवक्ता ज्ञवालीको दाबी
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दावी गरेका छन् ।
तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हट्नु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफनो पार्टी सरकारमा फर्कने बताएका हुन् ।
नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले आज लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेका छन् ।
प्रवक्ता ज्ञवालीले भने, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अबको १५/१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरि फर्कने छौं, सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरि फर्कनेछौं । र फेरि देशलाई ‘समृद नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौं ।’
प्रवक्ता ज्ञवालीले भूमि सम्बन्धि आयोग विघटन गरेको, दल फुटाउनेजस्ता लोकतन्त्रविरोधी गतिविधि गरेको, मन्त्रिपरिषदलाई अझै पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले लिपुलेक नेपाली भूमिलाई समस्याको रुपमा चित्रण गरेर न्यूनतम साझा कार्यक्रम ल्याएको भन्दै सत्तारुढ दलहरुप्रति पनि आक्रोश व्यक्त गरे ।
प्रतिकृया दिनुहोस