अझैं सोमबारसम्म यी प्रदेशहरुमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
भोली सोमबारसम्म देशका विभिन्न क्षेत्रहरुमा झरी पर्ने मौसमविद्ले बताएका छन् । मनुसनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद् प्रतिमा मानन्धरले बताइन् । तराई नजिकै मनसुनी न्यूनचापीय रेखा रहिरहेकाले मनसुनी गतिविधि सक्रिय नै रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।
तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् । आज प्रदेश -१, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै, राति प्रदेश -१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लगातार वर्षा भइरहेकाले तराईका जिल्लामा डुबानको जोखिम उच्च छ । यस्तै, बाढी पहिरोको खतरा पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ ।
मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ ।
आइतबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस