प्रचण्ड र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टबीच भेटवार्ता, तत्काल सरकार नर्फेर्ने प्रचण्डको आश्वासन
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको चर्चा चलिरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
केही दिनयता केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको थियो । नेपाली कांग्रेसले गठबन्धन सरकार बनाएर प्रदेश सरकारको नेतृत्व कांग्रेसलाई दिन प्रस्ताव गरेको थियो ।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकार परिवर्तन नहुने विश्वास दिलाएका छन् । यसलाई हेर्दा पनि तत्काल प्रदेश सरकार परिवर्तन नहुने संकेत देखिएको छ ।
प्रदेशमा भने सरकार परिवर्तन हुने चर्चा चुलिएको छ। माओवादीले नेतृत्व गर्दै आएको प्रदेश सरकार अब कांग्रेस वा माधव समूहको नयाँ पार्टीले नेतृत्व गर्ने चर्चा छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले माओवादी परित्याग गरेपछि पार्टीको सिफारिसमा पदमुक्त भएपछि प्रदेशसभामा ५२ जना सांसद छन् ।
उनीहरूमध्ये तत्कालीन नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् । विगतमा एमालेभित्र माधव समूहमा १७ जना र ओली समूहमा ७ जना सांसद खुलेका थिए ।
भेटवार्तामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए । यता, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरबदलको विषयमा चर्चा चुलिएका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले प्रचण्डलाई भेटेका हुन् । जसले गर्दा यो भेटवार्तालाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।
भेटवार्ताका क्रममा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा भेटवार्तामा छलफल भएको बताइएको छ ।
‘केन्द्रमा रहेको सत्तारूढ गठबन्धन र सोहीअनुसार गठबन्धनमा रहेका पार्टीको प्रदेश सरकारमा सहभागिताबारे छलफल भएको छ,’ भेटवार्तामा सहभागी एक नेताले भने, ‘प्रचण्डले वर्तमान प्रदेश सरकार तत्कालै परिवर्तन हुने सम्भावना कम रहेको बताउनुभएको छ । सुरुमा संघीय मन्त्रिमण्डल विस्तार हुने र त्यसपछि प्रदेश सरकारको नेतृत्व माओवादीले नै गर्ने वा अन्य पार्टीले गर्नेबारे निर्णय हुने बताउनुभएको छ ।’
प्रतिकृया दिनुहोस