पुल्चोकमा विशिष्ठ अतिथि गृह बन्ने
काठमाडौँ । नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख लगायतका विशिष्ट अतिथिहरुलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह निर्माण हुने भएको छ ।
ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपैयाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।
अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले जानकारी दिए ।
सो अतिथि गृह निर्माणका लागि मन्त्रिपरिषद्बाट समेत स्वीकृति प्राप्त भइसकेको छ । सो अतिथि गृहको ‘डिजाइन’ तथा ‘ड्रोइङ’ को काम ओट्रे प्रालि भन्ने परामर्शदाता कम्पनीले गरेको हो । पुल्चोकस्थित मन्त्री निवासको कुल क्षेत्रफल ७१.५ रोपनी छ । यसमध्ये करिब १४ रोपनी क्षेत्रफलमा भवनहरू निर्माण गरिने छ भने बाँकी ठाउँ खुला नै रहने छ ।
हालको मन्त्री निवास रहेको स्थानमा राजकीय अतिथि गृहका छुट्टाछुट्टै दुई तले आठवटा भवन र एउटा सामुदायिक सभाहल निर्माण गरिने छ । ६० देखि ८० जना क्षमताको एउटा सम्मेलन कक्ष र १० देखि १४ जना क्षमताको चारवटा बैठक कक्ष निर्माण गरिने छ ।
प्रतिकृया दिनुहोस