डेढ वर्षपछि खुल्यो कोरिया जाने बाटो
काठमाडौं । रोजगार अनुुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ ।
दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो खुलेको हो ।
नयाँ टेन्डरअनुसार लाग्ने हवाई भाडा पनि श्रमिकले नै तिर्नेछन् । बढी भाडा तिरेर पनि श्रमिक कोरिया जान तयार भएपछि सरकारले कार्यविधि संशोधन गरी बाटो खुलाएको हो ।
कोरियाले राखेका अरू दुई सर्त पालना गर्न भने श्रमिक यसअघि नै तयार भइसकेका छन् । श्रमिकले त्यहाँ आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने र कोरोना बीमा गर्नुपर्ने सर्त पनि दक्षिण कोरियाले राखेको छ तर मुख्य समस्या उडान देखिएपछि कार्यविधि संशोधन गर्नुपरेको विभागले जनाएको छ ।
बोलपत्र आह्वान भए पनि कति श्रमिक लैजाने भन्ने विषयमा अझै यकिन भने भइसकेको छैन । कोरिया जाने श्रमिकका लागि औसत ७०७ अमेरिकी डलर जहाज भाडा लागत अनुमान गरेर बोलपत्र आह्वान भएको छ ।
कोरोना सङ्क्रमण सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि श्रमिक दक्षिण कोरिया पठाउन बन्द भएको थियो । लेबर परमिट र कन्फर्मेसन लेटर आएका र पुनः जान लागेका गरी १० हजार बढी श्रमिक रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कन्फर्मेसन लेटर आएको छ महिनाभित्र कोरिया पुगिसक्नुपर्ने प्रावधान भएका यसबीच म्याद सकिएकाको एक वर्ष म्याद थप भएको जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस