दल विभाजन अध्यादेश बोकेर राष्ट्रपतिनिवास पुगे प्रधानमन्त्री देउवा
काठमाडौँ । दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर सिफारिस बोकेर राष्ट्रपतिनिवास शीतलनिवास पुगेका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । सोही अध्यादेश बोकेर देउवा शीतलनिवास पुगेको बालुवाटार स्रोतले जनायो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बहुचर्चित दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । स्रोतले दिएको जानकारीअनुसार अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान राखिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा रहेको केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्ने प्रावधानलाई हटाएर केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे मात्र दल विभाजन गर्न सकिने प्रावधानसहितको अध्यादेश सरकारले ल्याएको हो ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेमा रहनै नसक्ने निष्कर्षमा पुगेका वरिष्ठ नेता माधवकुमार नेपाल र उनीनिकट केही नेताहरू जसरी पनि पार्टी विभाजन गर्ने मूडमा थिए । केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउन नसकेपछि नेता नेपाललाई आफूलाई छुट्टिन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेका हुन् । अध्यादेशमा स्थानीय निकाय र प्रदेश सांसदहरूले आफूले चाहेको दल रोज्न सक्ने व्यवस्था पनि मिलाइएको स्रोतको दाबी छ ।
यससँगै एमालेबाट नेता नेपाल छुट्टिएर गठबन्धन सरकारमा सामेल हुने बाटो खुल्नेछ । त्यस्तै अध्यादेशकै सुविधा प्रयोग गरेर महन्थ ठाकुरले पनि नयाँ दल दर्ता गर्न सक्नेछन् । एमालेले भने दल विभाजन गर्न ल्याइने अध्यादेशको निन्दा गरेको छ ।
प्रतिकृया दिनुहोस