माओवादी स्थायी समिती बैठक, नेताहरुको कार्यविभाजनका विषयमा छलफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।
आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो ।
बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आइतबारको केन्द्रीय समिति बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी समितिको बैठकले व्याख्या र निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।
आइतबारको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।
प्रतिकृया दिनुहोस