पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि नहट्ने माधव नेपालको अडान
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु अन्तिम पर्खाईमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान राखे ।
शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझै पनि कोसिस गर्ने बताए ।
निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरु तयार रहेको वरिष्ठ नेता नेपालको भनाइ छ ।
उनले भने, ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । अझै पनि कोसिस गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने हामी अन्तिम पर्खाईमा रहेका छौं ।’
उनले संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि आफूहरुले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनु परेको बताए ।
प्रतिकृया दिनुहोस