अर्को चुनावमा माओवादी ठूलो दल बन्ने प्रचण्डको दाबी (राजनीतिक प्रस्तावसहित)
काठमाडौँ । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी चुनावबाट आफूहरु फेरि प्रमुख शक्तिका रुपमा फर्किन सक्ने दाबी गरेका छन्।
शनिबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा आठ पेज लामो राजनीतिक र संगठनात्मक प्रस्ताव पेश गर्दै उनले त्यसका लागि नेता कार्यकर्ता सबैले कठोर मिहिनेत गर्नु जरुरी रहेको बताएका छन्।
अनुपम फुडल्यान्डमा सुरु बैठकमा करिब १५ मिनेट आफ्ना भनाइ राख्ने क्रममा पनि उनले आगामी निर्वाचनसम्म माओवादी देशको प्रमुख शक्तिका रुपमा फर्किने जिकिर गरेका हुन्।
उनले नेकपा विघटन भइसकेको अवस्थामा तत्कालै अन्य शक्तिसँग एकता सम्भव नभएको निचोड पनि निकालेका छन्। उनले पार्टीलाई पहिलो शक्ति बनाउन कडा मिहिनेत चाहिने बताएका छन्।
देशको राजनीतिक घटनाक्रमको विश्लेषणका क्रममा उनले केपी शर्मा ओलीको दक्षिणपन्थी समूहले कम्युनिष्ट पार्टीको नेतृत्व अघि बढाउन नसक्ने पनि निचोड निकालेका छन्।
उनले पेश गरेको प्रस्तावमा अहिलेकै गठबन्धनलाई कायम राखेर आगामी निर्वाचन लड्नुपर्ने उल्लेख गरिएको छ। आफ्नै पहलकदमीले अहिले देशको राजनीति अघि बढिरहेको हुँदा माओवादी फेरि प्रमुख शक्तिका रुपमा फर्किन सक्ने जिकिर उनले गरेका छन्।
उनले माओवादीमा कम विवाद रहेकाले प्रमुख शक्ति बन्न सक्ने तर्क गरे। उनले माओवादीमा अनुशासन राम्रो रहे पनि उल्लेख गरे।
प्रतिकृया दिनुहोस