आखिर किन सुस्ताए विद्यार्थी संगठन ?
काठमाडौं । विद्यार्थीका हकहितका लागि स्थापना भएका विद्यार्थी संगठन विद्यार्थीका एजेन्डाभन्दा पनि राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको देखिएको छ ।
कोरोना संक्रमणका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्म पठनपाठन सहज नहुँदा र खोपमा विद्यार्थी प्राथमिकतामा नपर्दा पनि विद्यार्थी संगठनले विद्यार्थीको हकहितमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ ।
खोप भित्रिएको पाँच महिनापछि विद्यार्थीलाई खोप दिलाउन भन्दै विज्ञप्ति निकाले पनि त्यो विज्ञप्ति औपचारिकतामा मात्रै सीमित भएको विद्यार्थीको गुनासो छ ।
त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी पूर्णिमा चन्दले भनिन्, ‘कोरोनाविरुद्ध खोप नेपाल भित्रिएको महिनौं बित्यो । भौतिक उपस्थितिसहित अब परीक्षा दिनुपर्ने खोप लगाएको पनि छैन ।’ दाङ घर भई काठमाडौं पढ्दै आएका नेपाल वैद्यले भने, ‘त्रिभुवन विश्वविद्यालयले परीक्षा तोकेको छ । म घरमै छु । सरकारले बन्दाबन्दी अझै खोलेको छैन भन्छ । कसरी परीक्षा दिने ? खोप त परको कुरा भयो ।’
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा गणित विषयको प्रवेश परीक्षा तयारी गरिरहेका रविन घिमिरेले विद्यार्थी संगठनले विद्यार्थीको पक्षमा नबोलेको बताए । उनले भने, ‘वैकल्पिक विधिबाट भए पनि गुणात्मक सिकाइ बनाउन विद्यार्थी संगठनले बहस चलाउनुपर्ने होइन र ? उनीहरू त पेट्रोलको भाउ बढ्यो भने मात्रै सडकमा जान्छन् तर, विद्यार्थीको मागमा बोल्दै बोल्दैनन् ।’ यो समाचार राजधानी दैनिकमा छ ।
प्रतिकृया दिनुहोस