यी ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको आग्रह
काठमाडौं । आज देशका अधिकांस स्थानहरुमा वर्षा भइरहेको छ । त्यसैगरी आज पनि चार वटा प्रदेशमा अत्यधिक वर्षाको सम्भावना रहेको छ ।
मनसुनी वायुको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार बाग्मती प्रदेशका केही स्थानमा मध्यम र केही स्थानमा भीषण वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ ।
बाढी पूर्वानुमान शाखाका अनुसार शुक्रबार महाकाली, कर्णाली, कोशी र यसका सहायक नदीमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, माङ्दी लगायतमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना छ ।
कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ पश्चिम राप्ती, बबई, लगायतमा बहाब केही बढ्ने र यीनका सहायक केही साना नदीहरुमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ । प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराईको भूभाग भई बहने स-साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पुर्वानुमान छ ।
खासगरी नदी र खोला आसपासमा बाढी आउने सम्भावना रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस