आज माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बिजुली उत्पादन गर्ने

Mathillo tamakoshi hydropower

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्ने भएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना सम्पन्न भएको हो ।

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले सो आयोजनाको शिलान्यास गरेको सो आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

शुरुआती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याज लगायतका कारण लागत भने बढेर झण्डै ८० अर्बको हाराहारी पुगेको छ ।

आयोजनाले आइतबार मात्रै विद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशन बीचको लाइन चार्ज गरेको थियो ।

यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब सोमबारदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।

आयोजनाबाट उत्पादित बिजुली विद्युत गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबारदेखि कोहलपुरसम्मका सवस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।

प्रतिकृया दिनुहोस