चीनबाट सवारी साधन आयात

Rasuwagadh

काठमाडौँ । सामान ढुवानीमा प्रयोग हुने टिपर तथा बिरामी बोक्ने एम्बुलेन्स रसुवागढी नाकाबाट आयात भएका छन् । आयातको परिमाण २० ठूला टिपर एवं एक एम्बुलेन्स रहेका छन् ।

ती सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यही असार १ गतेदेखि १५ दिनको अवधिमा उक्त सवारी साधन पासाङल्हामु राजमार्ग हुँदै पर्साको वीरगञ्जतर्फ प्रस्थान भएका बताइएको छ । सवारी साधनका अलावा फलफूल स्याउ, निर्माणाधीन विद्युत् आयोजनाका उपकरण, ओखर, लसुन, जुत्ताचप्पल, तयारी पोशाक, अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्री रहेका छन् ।

आयात भएका सामग्री बोक्ने मालवाहक सवारी साधन नियमितरूपमा राजधानी काठमाडौँतर्फ प्रस्थान गरिरहेका छन् । अनिवार्य मास्क लगाउन र एक सहयोगीबाहेक अन्य व्यक्ति नराख्न चालकलाई बारम्बार अग्रह गरिएको प्रहरीले जनाएको छ । कोरोना सङक्रमणको जोखिम बढेसँगै पासाङल्हामु राजमार्गमा गुड्ने सानाठूला सबै प्रकारका सवारी साधनमा ठाउँ ठाउँको जाँच परीक्षणमा भने शून्यता छाएको छ ।

अवैध चिजवस्तु ओसारपसार नियन्त्रण एवं सुरक्षा प्रदानका लागि सडक मार्गमा तैनाथ गरिएका सुरक्षा अङ्गले कोरोनाको त्रास बढेपछि परैबाट गाडी नम्बर टिपाइ छाड्ने गरेका छन् । चीनबाट आयात हुने सामग्री बोकेका कन्टेनर भन्सार कार्यालयबाट शिलबन्दी भई आउने र अन्य सवारी साधनको हकमा जरूरी कामको प्रकृति हेरी कोभिड नियन्त्रण व्यस्थापन समितिको अनुमतिमा मात्र गुड्ने भएकाले गैरकानूनी क्रियाकलापको आशङ्का गर्ने ठाउँ नरहेको प्रहरीले जनाएको छ ।

कोभिङको जोखिमलाई मध्यनजर राखी प्रहरीको रेखदेखमा स्वास्थ्य मापदण्ड पूरा गरेका चालक तथा कामदार मात्र रसुवागढी नाकामा जान पाउने र सीमा क्षेत्रमै एकीकृत रूपको परीक्षण गर्ने व्यवस्था गरिएकाले अन्य क्षेत्रमा थप परीक्षण गर्न आवश्यक नरहेको सुरक्षा निकायले बताएको छ ।

प्रतिकृया दिनुहोस