संसद विघटनको मुद्दामा आज सरकार पक्षका निजी वकिलले बहस गर्दै
काठमाडौँ । संसद विघटनको मुद्दामा बिहीबार पनि राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गर्दैछन्।
बिहिबारको बहस पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले सुरु गर्दैछन्। खरेलका लागि एक घण्टा समय छुट्याइएको छ। यस अघि संसद विघटन हुँदा उनी महान्यायाधिवक्ता थिए।
खरेलपछि बरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, पर्शुराम कोइराला, सुवाश आचार्य, महेश नेपाल, विश्वमणि अधिकारी, टंक दुलाल, इश्वरी भट्टराई, भोजराज आचार्य, रवीनारायण खनाल लगायतले बहस गर्दैछन्।
उनीहरुका लागि तोकिएको साढे ४ घण्टा समय बाँकी छ। उनीहरुले आजै बहस सक्ने सम्भावना कम छ। यसअघि बुधबार बरिष्ठ अधिवक्ताहरु सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए।
उनीहरुको बहस सकिएपछि सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरुका लागि एक घण्टा समय छुट्याइएको भएपनि केही समय थप गर्ने इजलासको तयारी छ। त्यसपछि पुनः रिट निवेदक पक्षका कानुन व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन्। जवाफी बहसपछि एमिकस क्युरीलाई राय राख्न २ घण्टा समय तोकिएको छ।
गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका छन्। अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४६ सांसदको रिटमा सुनुवाई भइरहेको हो।
उक्त मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन भएको छ।
प्रतिकृया दिनुहोस