साँढे २२ लाख नाघ्यो कोरोना संक्रमितको संख्या, नेपालमा बढेको बढ्यै
काठमाडौं । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २२ लाख ४० हजार १ सय ९१ पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांकअनुसार, १ लाख ५३ हजार ८ सय २२ जनाको मृत्यु भएको छ ।
संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ ६ लाख ९९ हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्यामा अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ २८ हजार ९ सय ९८ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको क्विन्स राज्यमा अन्य राज्यमा भन्दा बढी क्षति देखिएको छ । सो राज्यमा मात्रै २ हजार ३ सय २४ जनाको मृत्यु भइसकेको छ ।
स्पेनमा १ लाख ९० हजार ८ सय ३९, इटालीमा १ लाख ७२ हजार ४ सय ३४, फ्रान्समा १ लाख ४९ हजार १ सय ३०, जर्मनीमा १ लाख ४१ हजार ३ सय ९७, बेलायतमा १ लाख ९ हजार ७ सय ६९ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
इटालीमा २२ हजार ७ सय ४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६ सय ८१, बेलायतमा १४ हजार ५ सय ७६ जनाको मृत्यु भइसकेको छ ।
५ लाख ६८ हजार ३ सय ४३ जना भने उपचारपछि निको भएका छन् । निको हुनेको संख्या जर्मनीमा सबैभन्दा बढी छ । त्यहाँ ८३ हजार १ सय १४ जना संक्रमणपछि पनि निको भइसकेका छन् । त्यस्तै चीनमा ७७ हजार ५ सय ५२, स्पेनमा ७४ हजार ७ सय ९७ जना निको भइसकेका छन् ।
नेपाल पनि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित एक जना उपचारपछि निको भइसकेका छन् भने बाँकीको उपचार जारी छ ।
प्रतिकृया दिनुहोस