आर्मीका बस्नेतलाई ‘प्रधानसेनापति खुला म्याराथन’को उपाधि

Mb0ird6ebmuafbvabwux

काठमाडौं। चौथो संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि आर्मीका कृष्ण बस्नेतले जितेका छन् । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले शनिबार आयोजना गरेको दौडमा आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडि पार्दै कृष्णले उपाधि जितेका हुन् ।

कृष्णले निर्धारित् दूरी दुई घन्टा २० मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोस्रो भएका राजनले दुई घन्टा २८ मिनेट र तेस्रो भएका नवराजले दुई घन्टा २५ मिनेटमा निर्धारित् दूरी पार गरेका थिए ।

आर्मीकै खगेन्द्र भाट चौथो, विनोद सिजापति पाँचौं, सविन तामाङ छैटौं र भीम गुरुङ सातौं भए । उपाधिसँगै कृष्णले रु एक लाख २५ हजारसहित मोटरसाइकल प्राप्त गरे । दोस्रो भएका राजनले रु ६५ हजार र तेस्रो भएका नवराजले रु ३५ हजार प्राप्त गरे ।

हाफ म्याराथनतर्फ पुरुषमा आर्मीकै कल्याण बानियाँ पहिलो भए । उनले निर्धारित् दूरी एक घन्टा ६ मिनेट ३१ सेकेन्डमा पूरा गरे ।

दोस्रो भएका गजेन्द्र राईले एक घन्टा ६ मिनेट ३८ सेकेन्ड र तेस्रो भएका टीकाराज कटवालले एक घन्टा ७ मिनेट २३ सेकेन्डमा दूरी पार गरे ।

महिलतर्फ आर्मीकी विश्वरुपमा बुढा पहिलो भइन् । उनले निर्धारित् दूरी एक घन्टा १७ मिनेट २० सेकेन्डमा पार गरिन् ।

सशस्त्र प्रहरी बल (एपीएफ)की बिन्दा देसारले निर्धारित् दूरी एक घन्टा २६ मिनेट १२ सेकेन्डमा पार गर्दै दोस्रो र तेस्रो भएकी आर्मीकी चन्द्रा रावतले एक घन्टा २१ मिनेट ३२ सेकेन्डमा दूरी पार गरिन् ।

दुवै स्पर्धाका विजेताले रु ५० हजार, दोस्रो हुनेले रु ३५ हजार र तेस्रो हुनेले रु २५ हजार प्राप्त गरेका थिए ।

४५ वर्षमाथिको खेलमा धर्म महर्जन पहिलो, भीम गुरुङ दोस्रो र भीमसेन अवाले तेस्रो स्थान हात पारे । विजेताले रु ४० हजार, दोस्रोले रु २५ हजार र तेस्रोले रु १५ हजार हात पारे ।

विजेतालाई प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कृत गरेका थिए ।

म्याराथनको पहिलो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई च्याम्पियन बनेका थिए ।

दोस्रो संस्करणमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की र तेस्रो संस्करणमा आर्मीकै कृष्ण बस्नेत च्याम्पियन बनेका थिए । योसँगै बस्नेत दोस्रोपटक उपाधि जित्न सफल भएका हुन् ।

सोही अवसरमा सेनाले आर्मीका तीन पूर्वअन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको थियो ।

सम्मानित हुनेमा एथ्लेटिक्सका राजेन्द्र भण्डारी, पारा एथ्लेटिक्सका विक्रमबहादुर राना र सुटिङका टीकाराम श्रेष्ठ छन् । उनीहरुलाई जनही रु २५ हजार र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।

जंगीअड्डाबाट सुरु भएको दौड त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तीनकुने हुँदै भक्तपुर, सूर्यविनायक पुगेर पुनः जंगीअड्डामै आएर सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...