सरकारी अनुगमनको रिस उपभोक्तालाई ! अनिश्चितकाल तरकारी बिक्री बन्दको घोषणा

Tarkari bajar

काठमाडौं । सोमबार बिहान अनुगमनमा गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीकोे टोली कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तरकारी बजार अनुगमन गर्न गयो ।

अनुगमन टोलीले काक्रो, फर्सी लगायतका तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजात माग्यो । तर, केही थिएन । त्यसपछि टोलीले गाडी नियन्त्रणमा लियो ।

बाराबाट आएको गाडीसहित चालक नियन्त्रणमा लियो । तर, एकैछिनमा कालीमाटी तरकारी बजारमा तनाव भयो । व्यापारीले सो टोलीलाई बजारभित्रै थुने । सो टोलीलाई भित्र राखेर ब्यापारीले गेटमा धर्ना दिए । टोलीलाई छुटाउन अहिले त्यहाँ प्रहरी परिचालन गरियो ।

यो बिहानको घटना थियो । दिउँसो नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघको बैठक बस्यो । जुन बैठकले तरकारी बजारमा गरिएको अन्गमनको विरोध जनायो । त्यति मात्रै होइन, मंगलबारदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा सोमबार बिहान सरकारले अनुगमनको क्रममा पक्राउ गरेका ब्यापारीलाई रिहा गर्नुपर्ने माग राख्दै महासंघले मंगलबारदेखि देशभरका बजारमा फलफूलको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बिज्ञप्ती निकालेरै किसानको तरकारीमा बील बिजक नभएको अभियोगमा महासंघका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गर्दै तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने घोषणा गरे ।

अनुगमनका क्रममा तरकारीको बील नभएको अभियोगमा एकजना ट्रक चालक र आन्दोलनमा उत्रेका व्यापारीलाई पक्राउ गरिएको थियो । ‘किसानले बजारमा बिक्रीका लागि ल्याउने तरकारीको किसान स्वयमले बील जारी गर्ने अवस्था नेपालमा नभएको अवस्थामा किसानको तरकारी र बिक्री गर्ने ब्यापारीलाई नियन्त्रणमा लिन निन्दनिय काम छ’, बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस