कार्यकर्ता पोस्ने काम : बनिसकेको भवनलाई ९ लाख !
भक्तपुर । आफ्ना कार्यकर्ता पाल्न नेताले कुन हदसम्म गर्छन भन्ने हेर्न चाँगुनारायण नगरपालिका गए हुन्छ ।
चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले सोही नपाको वडा नं. २ का आफ्ना कार्यकर्ता पाल्न बनिसकेको सामुदायिक भवनलाई ९ लाख रुपैयाँ नगरपालिका कोषबाट प्रदान गरेर शक्तिकै दुरुपयोग गरेका छन् ।
राप्रपा नेपालबाट संविधानसभा सदस्य दिनेश श्रेष्ठको सांसद विकास कोषबाट ८ लाख रुपैयाँ निकासा गरेर सो भवन बनेको थियो । तत्कालिन राप्रपा नेपालबाट संविधानसभा सदस्य दिनेश श्रेष्ठको सांसद विकास कोषबाट ८ लाख रुपैयाँ निकासा गरेर सो भवन बनेको थियो ।
१ वर्ष पहिला नै निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको भवनलाई फेरि नगरपालिकाले ९ लाख रुपैयाँ प्रदान गरेर आफ्ना कार्यकर्ता जसरी पनि पाल्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् ।
मेयर स्वयंलाई ल्याएर उद्घाटन गरिएको सो सामुदायिक भवन चाँगुनरायण नगरपालिका वडा नं. २ का मनोज केसीको अध्यक्षतामा निर्माण सम्पन्न भएको थियो ।
सांसद विकास कोषबाट निर्माण भई कार्य सम्पादनमा समेत आइसकेको भवनलाई आफ्नो कार्यकर्ता घाटामा गए भनी पुनः मूल्याङ्कन गराई ९ लाख रुपैयाँ निकासा दिनु कहीँ नभएको जात्रा भक्तपुरको चाँगुनारायण नगरपालिकामा भएको छ ।
चाँगुनारायाण नगरपालिकामा तत्कालिन एमाले हाल नेकपाको नै बहुमत रहेको छ । १९ सदस्य कार्यपालिकामा १४ जना नेकपाका तर्फबाट रहेका छन् भने एक जना नेमकिपाबाट र अन्य ४ जना नेपाली कांग्रेसबाट रहेका छन् ।
यसरी थपियो रकम
भवन निर्माणका क्रममा योजनाभन्दा बढी पैसा लागेको भन्दै मनोज केसीले गत फागुनमा नगरपालिकासँग रकम माग गरेका थिए । यतिसम्म की फैटोका फसिन्टार सामुदायिक भवन नामाकरण गरिएको सो भवन २०७४ असोज ६ गते मेयर आफैले उद्घाटन गरेका थिए ।
यसै आधारमा नगरपालिकाले रकम त दियो । तर संविधानसभा सदस्यको सांसद विकास कोषको पैसाले निर्माण भएको भवन अर्थात् स्थानीय निकाय आउनुभन्दा पहिला नै निर्माण सम्पन्न भइसकेको थियो ।
तर, निर्माण भई कार्य सम्पादन गर्दै आएको भवनमा मेयर मिश्रले ९ लाख दिएका छन् । यसले नगरकै इज्जतमा दाग लगाएको छ । यसलाई कतिपयले हचुवाको भरमा मूल्याङ्कन गरी रकम निकासा गर्नु जनप्रतिनिधिको लापरबाही र नीतिगत भ्रष्टाचारको पराकास्ट भएको टिप्पणी गरेका छन् ।
यो विषयमा निशान न्युजले नगरपालिकाका कर्मचारीसँग सम्पर्क गर्दा भने, ‘यो निर्णय कार्यपालिकाको बहुमतले गरेका कारण निकासा भएको हो यस सम्बन्धमा अरु केही बोल्न मिल्दैन ।’
कार्यपालिकाका एक सदस्य भन्छन्, ‘हामीले विरोध गरेका हौं, बनिसकेको भवनलाई पैसा दिन मिल्दैन भनेर । तर कार्यपालिकामा उहाँहरुको बहुमत छ जे गरे पनि भई हाल्यो नि ।’
प्रतिकृया दिनुहोस