बलात्कारपछि हत्या भएकी निर्मला पन्तको ‘हत्यारा’ २४ दिनपछि पक्राउ
कैलाली । बलात्कारपछि हत्या भएको कन्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र प्रदेश नम्बर–७ को अनुसन्धान समूहको संयुक्त टोलीले घटनामा संलग्न एक अभियुक्तलाई २४ दिनपछि पक्रेको हो ।
कन्चनपुरको भीमदत्त नगरपालिका –१९, खन्ना चौराहीका दिलीपसिंह विष्ट पक्राउ परेका छन् । उनलाई शनिबार घरबाटै पक्राउ गरिएको जनाइएको छ ।
प्रहरी स्रोतका अनुसार विष्टले आफूले बलात्कारपछि निर्मलाको हत्या गरेको स्वीकार गरेका छन् । उनलाई जिल्ला अदालत कन्चनपुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृतावस्थामा फेलापरेकी थिइन् ।
कन्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला भीमदत्त नगरपालिका–१८ मा रहेकी साथी रोश्नी बमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृतावस्थामा फेलापरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका डीएसपी ज्ञानबहादुर सेठीले भने आफू कार्यालयबाहिर रहेकाले अभियुक्त पक्राउ परे र नपरेको जानकारी नभएको प्रतिक्रिया दिए ।
घटनापछि कन्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मी लगायतले निर्मलाको हत्यारा पत्ता लगाइ कारबाही गर्न माग गर्दै दबाबस्वरुप प्रदर्शन गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस