दुई तिहाईको दम्भ ६ महिनामै सकियो : खड्का

Narayan khadka

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. नारायण खड्काले सत्तारुढ दल नेकपा नेतृत्वको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएको आरोप लगाएका छन् ।

नेता खड्काले दुई तिहाईको दम्भ देखाउँदा सरकारले ६ महिनामै कमजोर बनेको टिप्पणीसमेत गरे । ‘सत्तारुढ दल नेकपा दुई तिहाईको दम्भ देखाएर संसदीय अभ्यासलाई कुल्चेर अघि बढ्न खोजेको छ’ उनले भने, ‘सरकारले यस्तै गतिविधि कायमै राखे हामी सडक र सदन दुवै ठाउँबाट घनिभूत संघर्ष गर्छौं ।’

‘७८ पृष्ठमा उल्लेख गरिएका अधिकांश उपलब्धिहरु ५ महिनामा गर्न सकिने कामहरु छैनन्’ उनले भने, ‘तुईन विस्थापित गरेर झोलुङे पुलहरु बनाउने, सडक पुलहरु बनाएको र २८ मेगावाट विद्युत उत्पादनको परियोजना बनाएको कुरा उल्लेख गरिएको छ । जुन ५ महिनामा हुनै नसक्ने कुरा छन् । ती कामहरु त पहिल्यैदेखि हुँदै आएका हुन् ।’

सरकारले यातायात क्षेत्रको एकाधिकार हटाउन सफल भएको भनेर दाबी गरेपनि अहिलेसम्मपनि सिण्डिकेटको समस्या यथावत नै रहेको उनको आरोप छ । ‘रुट परमिटको समस्या अहिलेपनि यथावत छ’ उनले भने, ‘सुन तस्करी प्रकरणमा साना माछा समात्ने काममात्रै भयो । ठूला माछाहरु समात्ने काम भएन ।’

उनले राजश्व लक्ष्य गरिएकोभन्दा २ अर्ब बढि नै उठेको बताए । ‘राजश्व त पहिलेदेखि नै उठिरहेको छ । लक्ष्यभन्दा बढी नै उठिरहेको छ । यो साउनको लक्ष्यपनि लगभग पूरा हुन्छ’ उनले भने ।

सोमबार रिपोर्टर्स क्लवले गरेको कार्यक्रममा नेता खड्काले सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नु, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, न्यायालयमाथि हस्तक्षेप गर्ने र प्रधानमन्त्रीले आफैले सिफारिश गरेको प्रधानन्यायाधीशलाई अस्विकृत गर्नेलगायत नागरिकको अधिकार खोस्ने खालको निर्णय गरेकोप्रति गम्भिर आपत्ति जनाए ।

प्रतिकृया दिनुहोस