कोसी ब्यारेजमा सुरक्षा चुनौती, अर्धसैनिक बल राख्न भारतको दबाब

Koshi barriage 1582018061631 600x0

सप्तरी, सिमरा । सुरक्षा चुनौती देखाउँदै कोसी ब्यारेजमा भारतीय अधिकारीहरूले यहाँ आफ्ना अर्धसैनिक बल राख्न दबाब बढाएका छन् ।

इस्लामिक आतंकवादी संगठन लस्कर–ए–तोयबा, जैस–ए–मोहम्मद र पाक मुल इन्डियन मुजाहिद्धिनबाट सुरक्षा चुनौती रहेको भारतीय अधिकारीहरूको दाबी छ ।

‘कोसी ब्यारेजलाई आतंकवादीबाट थ्रेट छ,’ बिहारको कोसी योजनाअन्तर्गत कोसी ब्यारेज प्रभाग प्रमुख रहेका प्रमुख इन्जिनियर विजयकुमार सिंहले भने, ‘नेपालका तर्फबाट दिइएको सुरक्षा पर्याप्त छैन ।’ उनले ब्यारेजको संरचना र आफूहरूसमेत थ्रेटमा रहेको दाबी पनि गरे । थ्रेट बढेकैले कोसी ब्यारेजको सुरक्षाका लागि भारतको केन्द्र सरकारले अर्धसैनिक बल राख्ने तयारी गरेको उनले खुलाए । ‘ब्यारेजको सुरक्षामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) राख्ने तयारी गरिएको छ,’ सिंहले भने ।

‘यसका लागि तीन पटक उच्च तहको अनुगमन भइसकेको छ,’ उनले भने ।

सीआईएसएफ भारतको केन्द्र सरकार मातहतको अर्धसैनिक बल हो । सन् १९६९ बाट अस्तित्वमा आएको सीआईएसएफलाई भारतमा बहुकौशलयुक्त सुरक्षा एजेन्सी मानिन्छ । उक्त सुरक्षा दस्ताले भारतमा परमाणु संस्थान, सामुद्रिक संस्थान, हवाई अड्डा, विद्युत् संयन्त्र, संवेदनशील सरकारी भवन तथा पुराना महत्त्वपूर्ण स्मारकको सुरक्षा दिँदै आएको छ ।

सीआईएसएफको टोली तत्कालै कोसी ब्यारेजको सुरक्षामा खटिने तयारी गरे पनि नेपाल सरकारसित उच्च तहमा कुरा हुन नसकेका कारणले मात्रै रोकिएको सिंहले जनाए । नेपाल र भारतबीच सहमति भई सन् १९५२ बाट सुरु भई १० वर्ष लगाएर सन् १९६२ मा कोसी ब्यारेज निर्माण भएको हो । ५६ वटा ढोका रहेको यसको आधा पुल सप्तरीमा छ भने नियन्त्रण कक्षसहित आधा पुल सुनसरीमा पर्छ । कोसी ब्यारेज नेपालमा भए पनि सम्पूर्ण नियन्त्रणको काम भारतको बिहार सरकारअन्तर्गतको कोसी योजनाको हातमा छ ।

इन्जिनियर सिंहका अनुसार ब्यारेजको सुरक्षा थ्रेटकै कारण कोसी पूर्वी नहरको बाटोमा ब्यारेजनजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) को पोस्ट राखिएको छ । भारत सरकारले दसगजाभन्दा ३ सय मिटर मात्र दक्षिण सीमावर्ती भीमनगरमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी रहने गरी अर्धसैनिक बल बिहार मिलिट्री पुलिस गणकै स्थापना गरेको छ ।

पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेज भान्टाबारी खण्डबाट उक्त गणका संरचना सहजै देख्न सकिन्छ । सञ्चारकर्मीलाई प्रवेश निषेध रहेको उक्त गण क्षेत्रमा २५–३० वटा चारतल्ले घर निर्माण गरिएका छन् । ‘सीमा क्षेत्रमै ५ हजारभन्दा बढी अर्धसैनिक बल राख्ने गरी गण निर्माण गरिनुले भारतको निश्चित स्वार्थ हुन सक्छ,’ एक सुरक्षा अधिकारीले निशान न्युजसँग भने, ‘यसबारे नेपाल सरकार समयमै चनाखो हुनु जरुरी छ ।

भारतीय अधिकारीहरूले कोसी ब्यारेजको सुरक्षामा थ्रेट रहेको विषय उठाएको यो पहिलो पटक होइन । यसअघि २०१६ को जुलाई १४ का दिन कोसी योजनाको मुख्य कार्यालय वीरपुरले सप्तरी र सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई पत्र नै पठाएर इस्लामिक आतंकवादी संगठन लस्कर–ए–तोयबा, जैस–ए–मोहम्मद र पाक मुल इन्डियन मुजाहिद्धिनबाट कोसी ब्यारेजमाथि आक्रमण हुन सक्ने बताएको थियो ।

सो पत्रमा ब्यारेजसहितका प्रमुख संरचनाको सतर्कता र सुरक्षात्मक विषयमा ध्यान दिन आग्रह गर्दै ब्यारेज क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाउन, ब्यारेजको पुल भएर चल्ने हरेक सवारी साधनको पूर्ण चेकजाँच गर्न र सुरक्षामा कुनै चुक हुन नदिन सचेत रहन आग्रह गरिएको थियो । कोसी योजनाले बिहारको सुपौल जिल्लाका डिस्ट्रिक्ट मजिस्ट्रेटको आदेशमा उक्त पत्र लेख्ने काम गरेको उल्लेख गरेको थियो ।

उक्त पत्रको छायाकपीमा कोसी ब्यारेजमा रहेको नेपाल प्रहरीको गतिविधिमाथि पनि निगरानी गरी प्रतिवेदन दिन निर्देशन दिइएको छ । नेपाल सरकारलाई जानकारी नै नदिई नेपाली सुरक्षाकर्मीको गतिविधि निगरानी गर्ने भारतीय कार्य शंकास्पद रहेको सुरक्षा अधिकारीहरूको बुझाइ छ ।

सन् २०१६ मा भारतीय अधिकारीले लिखित पत्र नै पठाएर अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठनबाट सुरक्षा थ्रेट रहेको जानकारी दिएलगत्तै सप्तरी र सुनसरी प्रशासनले ब्यारेज पुलको दुवैतर्फ सशस्त्र प्रहरी बलको पोस्ट नै स्थापना गरेका थिए । यसका अतिरिक्त ब्यारेजको नियन्त्रण कक्ष रहेको स्थानभन्दा १० मिटरकै दूरीमा मात्र कोसी ब्यारेज प्रहरी चौकी अवस्थित छ । तर नेपालको सशस्त्र प्रहरी र नेपाल प्रहरी पर्याप्त संख्यामा हुँदाहुँदै पनि भारतीय अधिकारीहरूले ब्यारेज असुरक्षित रहेको बताउँदै आएका छन् ।

सिंहले अब दूतावासमार्फत नेपाल सरकारस्तरमा छलफल गरी सीआईएसएफ राख्ने तयारी रहेको पनि बताए । नेपाल र सशस्त्र प्रहरीको सुरक्षा हँ‘दाहँ‘दै भारत सरकारले सीआईएसएफ राख्ने तयारी गर्नु, त्यसका लागि नेपाल सरकारलाई जानकारी नै नदिई तीन–तीन पटकसम्म अध्ययन अनुगमन गर्ने कार्य शंकास्पद रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस