४० वर्षभित्र भारत महाशक्ति राष्ट्रमा पुग्ने डा. लोहनीको दाबी
काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी ३० देखि ४० वर्षभित्र भारत महाशक्ति राष्ट्रमा पुग्ने दावी गरेका छन् । डा. लोहनीले भारत महाशक्ति राष्ट्र बन्नु नेपालको लागि पनि खुशीको कुरा हुने उनको तर्क थियो ।
‘एकातिर चीन र अर्कोतिर भारत छ, भारत र चीनजस्तो ठूला–ठूला अर्थतन्त्र भएका देशका बीचमा नेपाल रहनु सौभाग्यको कुरा हो’ उनले भने, ‘भारत आउने ३० देखि ४० वर्षभित्र अमेरिका र चीनजस्तै महाशक्ति राष्ट्र बन्छ । प्रजातन्त्रमा आस्था राखेर सबै कुरामा भारत महाशक्तिमा पुग्ने देखिएको छ ।’
मंगलबार रिपोर्टर्स क्लवमा भएको कार्यक्रममा उनले भारतसँग नेपालले समझदारी कायम गरेर अघि बढ्नुपर्ने बताए । ‘हामी दुवै राष्ट्र स्वतन्त्र छौं । हाम्रा आ–आफ्नै स्वार्थ छन् । हामीले मिलेर काम गर्नुपर्छ’ उनले भने, ‘नेपालले पनि आफ्नो राष्ट्रिय स्वार्थ प्राप्त गर्नेगरी आफ्नो हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ ।’
‘हाम्रो कार्य पद्धतीले गर्दा व्यापार घाटा धेरै छ । नेपालले दक्ष जनशक्ति एक्सपोर्ट गरिरहेको छ । र, चीन र भारतबाट समानहरु ईम्पोर्ट गरिरहेको छ’ उनले भने, ‘नेपालले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै उनले भने,‘भारतले पनि अब उद्योग तथा उत्पादनमुलक क्षेत्रमा कसरी अघि बढ्न सकिन्छ भनेर नेपाललाई सहयोग गर्नुपर्छ ।’
भारत र नेपालबीच असाध्यै प्रगाढ सम्बन्ध भए पनि आर्थिक सम्बन्ध चाहीँ असन्तुलन रहेको उनको गुनासो छ । भारत र नेपाल बीचको सम्बन्धमा नयाँ अध्याय सुरु गर्नुपर्ने उनको भनाई छ । नेपालमा प्रशस्त पानी भएकोले पानीको उपभोगपनि दुवै देशलाई लाभ हुनेगरि अगाडि बढाउनुपर्ने लोहनीको भनाई छ ।
प्रतिकृया दिनुहोस