प्रकाण्डप्रति सरकारको गरम नीति, अदालतद्धारा ३ थुनामा राख्न आदेश

Prakanda

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति निक्कै गरम नीति अपनाएको सरकारले थुनामै राखेर अनुसन्धान गर्न चाहेको छ । तर, अदालतले भने ३ दिन मात्रै थुनामा राख्न आदेश दिएको छ ।

साउन २२ मा दक्षिणकाली नगरपालिका –१ चाल्नाखेलबाट पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न पाउँ भनी अदालतमा माग गरेको थियो ।

तर, काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमा राख्न आदेश दिएको छ । उनी चन्दा संकलनको आरोपमा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धानका लागि अदालतले थप ३ दिनको समय दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीमाथि अनुसन्धान नसकिएको भन्दै थप १५ दिन म्याद थप गर्न माग गरेको थियो । यसअघि प्रहरीले चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो ।

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट पनि दायर भएको छ । यस रिटमाथि सर्वोच्चले सोमबारका लागि पेशी तोकेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा विभिन्न उद्योगपति, व्यवसायी लगायतबाट अवैध रुपमा करिव ७ करोड चन्दा असुल गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस