भाडाको भवन भन्दा आफ्नै भवनमा मन्त्रालय राखे प्रभाबकारी हुने: मुख्यमन्त्री पोख्रेल

Shankar pokharel

बुटवल । आईतबार बुटवलमा पत्रकारसँगको भेटघाटमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले भाडाको भवनमा प्रदेश राजधानी नचल्ने बताएका छन् ।

उनले भाडाको भवन भन्दा पनि आफ्नै भवनमा मन्त्रालय राख्ने वातावरण नहुँदासम्म प्रदेशको राजधानी प्रभाबकारी रुपमा सञ्चालान गर्न नसकिने उनले बताए । अहिले बुटवलमा भाडाको भवनमा प्रदेश राजधानी चलाउन बाध्य भएको भन्दै अब यसको स्थायी निकास खोज्नु पर्ने उनले बताए ।

प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्नेमा बहस हुनुपर्ने उनको तर्क थियो । राजधानी कहाँ बनाउने भन्ने सोँच्ने हो भने समस्या आउने उनको दावी थियो । स्थायी राजधानी तोक्न जनताको राय सुझाव लिएर तीन महिनाभित्र प्रतिवेदन बुझाउने गरी प्रदेशसभाले विशेष समिति गठन गरिसकेको भन्दै मुख्यमन्त्री पोखरेलले २०स्२५ वर्षमा नयाँ राजधानी खोज्नुपर्ने स्थिति नआउने गरी निर्णयमा पुग्नुपर्ने धारणा राखे ।

उनले अर्काको भवन भाडामा लिएर अहिलेकै ढाँचामा स्थायी राजधानी नचल्ने समेत प्रष्ट पारे । ‘चुनावका बेला सबै नेताले आफ्नो ठाउँमा राजधानी बनाउँछु भन्यो होला, तर सधैंभरि त्यही कुरालाई बोकेर हिँड्न हुंदैन’ मुख्यमन्त्रीले पोखरेलले भने ‘यदि कसैले त्यसो गर्छ भने ऊ सही अर्थमा नेता हुनसक्दैन् ।’

स्थायी राजधानी सिफारिस गर्न गठित समितिमा रहेका सांसदहरुले पनि आफू कुन ठाउँको हुँ भन्ने आधारमा आफ्ना कुरा नराखी जनताबाट राय सुझाव लिई यथार्थ प्रतिवेदन बुझाउनुपर्नेमा जोड दिए । ‘मैले संसद वैठकमै माननीय ज्यूहरुलाई आफ्नो कुरा नराख्नूहोला, जनताका कुरा मात्र लिनु होला भनेको छु’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार कमजोर र अधिकार विहीन छ भन्ने कुरा सत्य नभएको दावी गर्दै संविधान र कानुनले प्रदेश सरकारलाई पनि उत्तिकै अधिकार दिएको बताए ।

‘शिक्षा, स्वास्थ्य, वन, पर्यटन, रोजगारी, विकास आयोजना हरेक क्षेत्रमा केन्द्रभन्दा प्रदेश सरकारमा अधिकार र अवसर धेरै छन्’ मुख्यमन्त्री पोखरेलले भने ‘तर धेरैले संविधानले प्रदेशलाई दिएका अधिकार सूची नपढी कमजोर र अधिकारविहीन भनेर एकोहोरो भ्रम फैलाइरहेका छन् जुन सत्य होइन् ।’

प्रतिकृया दिनुहोस