नारायणगढ-मुग्लिन सडक; पुलकै कारण सधैं सास्ती
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत खहरे पुलमा बुधबार साँझ समस्या आएपछि एकतर्फी यातायात सञ्चालन गरिएको छ ।
पुलको रेलिङ ब्लक खसेपछि मर्मत जारी छ । ‘गाडीले हानेर यस्तो समस्या भएको हो,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, ‘पुल भासिएको होइन, रेलिङमा समस्या आएको छ । मर्मत गर्न २र३ दिन लाग्छ ।’
मुग्लिनबाट कालीखोलासम्मका पुल बढी जोखिममा छन् । त्यसमा पनि खहरे, चिसेन्जी र तुइन खोलाको पुलमा दैनिकजसो समस्या आइरहेको छ । अधिकांश पुलको रेलिङ भाँच्चिएको छ । पुलबाट एकतर्फी यातायात सञ्चालन गर्दा जाम हुने गरेको छ । साँघुरा पुलले गर्दा दुर्घटनाको जोखिम उच्च छ ।
सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार यो खण्डमा १८ वटा पुल छन् । तीमध्ये ४ वटाको ठेक्का लागेर निर्माण सुरु भइसकेको छ, अन्य १४ वटा भने जस्ताको तस्तै छन् ।
ती पुलको अहिलेसम्म डिजाइन हुन सकेको छैन । त्यसमध्ये पनि ५ वटा पुल जोखिमयुक्त क्षेत्रमा रहेको थापा बताउँछन् । ‘१४ मध्ये ५ वटा पुलको जिओलोजिकल (भौगर्भिक) र जिओग्राफिकल अवस्था एकदमै जटिल छ,’ उनले भने, ‘त्यही भएर भत्काएर बनाउन सक्ने अवस्था छैन, भौगर्भिक बनावटले पुल निर्माणमा समस्या आउछ, सँगै बेलिब्रिज राखेर यातायात चलाउन ठाउँ पनि छैन ।’ मुग्लिनतर्फका पुलमा समस्या बढी छ ।
प्रतिकृया दिनुहोस