सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा मर्नेको संख्या ५ पुग्यो
चौतारा । सिन्धुपाल्चोकको सल्लेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
बिहीबार साँझ मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङको घटना स्थलमै मृत्यु भएको थियो ।
५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङको भने उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई दुर्घटना भएको जीपभन्दा पछाडि आइरहेको एउटा ट्रकमा राखेर मेलम्ची पुर्याइएको थियो । घाइतेहरुलाई उपचारका लागि मेलम्चीबाट शुक्रबार बिहान साँढे २ बजे काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्ये चालकको अवस्था गम्भीर छ । घाइतेहरुको उद्धारको लागि राति नै नाइट भिजन हेलिकप्टर आए पनि खराब मौसमको कारण फर्किएको थियो ।
चल्दाचल्दै स्टार्ट बन्द भएपछि जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । प्रहरी र स्थानीयबासीले घाइतेहरुको उद्धार गरेका थिए । तर, पानी परेकाले बाटो बिग्रिएको र बेलुकाको समय भएकाले उद्धार कार्यमा समस्या भएको थियो ।
प्रतिकृया दिनुहोस