‘भद्र’ र ‘रुपसी’ गए चीन, ‘रंगीला’ गयो भारत
काठमाडौं । सरकारले दुर्लभ एकसिंगे गैंडा बिहीबार चीनलाई उपहार दियो । एक भब्य कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरे ।
यो सत्रैको चासोको विषय बन्यो । तर, त्यस्तै अर्काे जनावर, जसलाई रंगीला अर्थात् नाच्ने भालु भनिन्थ्यो, उसलाई चुपचाप भारत पठाइँदा कसैले सुइकोसम्म पाएनन् ।
७ महिनाअघि भारतीय तस्करले नेपाल ल्याएकोे १७ वर्षीय रंगीला नाम गरेको ‘नाच्ने भालु’ लाई भारतलाई हस्तान्तरण गर्न पनि बल्लबल्ल मात्रै मन्त्रिपरिषद्को बेठकले स्वीकृती दिएको थियो ।
पछिल्लो ७ महिनादेखि गरिएको कागजी प्रक्रियालाई अन्ततः नेपाल सरकारको मन्त्री परिषद्को निर्णयले स्वीकृती दिएपछि भारत फर्काइएको छ ।
७ महिनाअघि नेपाली सुरक्षाकर्मीले २ जना तस्करसहित श्रीदेवी र रंगीला नामका भालु नियन्त्रणमा लिएको थियो । तर, सदर चिडियाखाना, जावलाखेलमा राखिएका दुई भालुमध्ये १७ वर्षीय श्रीदेवीको भने मृत्यु भइसकेको छ । श्रीदेवीको मृत्युपछि विक्षिप्त बनेको रंगीलालाई भारत फर्काउन भारतको वाइल्डलाइफ एसओस र नेपालको जेन गुडअल इन्स्टीच्युटले संयुक्त प्रयास गरेका थिए ।
नेपालबाट लगिएको रंगीलालाई वाइल्डलाइफ एसओएसका प्रतिनिधिले भारत लगेर आग्रास्थित भालु उद्धार केन्द्रमा राखेको भारतीय पत्रिका द हिन्दुले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस