सचेत रहनुस्, अझैं ३ दिन भारी वर्षा हुन्छ
काठमाडौं । गएराति परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भइरहेका बेला अझै तीनदिन भारी वर्षा हुने सम्भावना ।
मौसम अनुमान विभागले यो मनसुनी वर्षा शनिबारसम्म जारी रहने भएकाले अझैं भारी वर्षा हुने जनाएको छ । विभागले बागमती क्षेत्रमा सतर्क रहन सुझाव पनि दिएको छ ।
लगातारको वर्षाले धेरै जसो राजमार्गहरु अवरुद्ध भएका छन् । भक्तपुरमा पहिरोले पुरेर ३ जनाको मृत्यु भयो । काभ्रेको बनेपा, भक्तपुरको राधेराधे, मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुबै क्षेत्र डुबानमा परे ।
चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा पर्यो । मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परे । अहिले त्यहाँको जनजीवन सामान्य बन्न थालेको छ ।
अझै मनसुन सक्रिय रहेकोले पूर्वदेखि पश्चिमसम्म देशैभरी भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । देशका पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै शनिबारसम्म सतर्क रहन विभागले सचेत गराएको छ ।
मौसम विज्ञान विभागले बिहीबारदेखि शनिबारसम्मको मौसमी अवस्थाबारे सूचना नै निकालेर बिहीबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
साँझ र राति पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । बिहीबार राति देशको मध्य र पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
शुक्रबार दिउँसो र साँझ मध्यमखालको वर्षाको सम्भावना रहे पनि रातिको समयमा भारी वर्षाको हुने अनुमान गरिएको छ । शनिबार दिउँसोको समयमा देशभरि नै बदली रही मध्य र पश्चिमी भूभागका धेरै स्थानहरु र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना छ ।
विभागका अनुसार हाल काठमाडौं उपत्यकाको विशेषत भक्तपुर क्षेत्रमा भारी वर्षापीि मनोहरा नदीमा ज्यादै उच्च बहाब भइरहेको छ । तटीय ठूलो क्षेत्रमा बेलुकीसम्मै डुबानको जोखिम देखिन्छ ।
बिहीबार अधिकांस नदीहरूमा बहाब बढ्दो क्रममा रहने, केहीमा मध्यरातसम्म सतर्कता आसपस पुग्ने सम्भावना भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । बागमती नदी जलाधारमा मध्यम बर्षा भइरहेकोले बागमती र यसका शाखा नदीहरूका तटिय क्षेत्रमा हुनेहरू बिशेष सतर्कता अपनाउन पनि विभागले सचेत गरेको छ ।
प्रतिकृया दिनुहोस