सडकको जग्गा खरीद बिक्रीमा कर्मचारीकै संलग्नता !
गाईघाट । राजमार्गमा पर्ने जग्गा बिक्री गर्ने कर्मचारीसहित ६ जना जेल चलान भएका छन् ।
सगरमाथा राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि प्रहरीले जेल चलान गरेको छ ।
त्रिनपा–३ मोतिगडाका जग्गा विक्रेता शिप्रसाद दाहाल, बुद्धिप्रसाद दाहाल, ललितपुर महानगरपालिका–३ खोकनाका जग्गा खरीदकर्ता नेपाल डंगोल, नापी शाखा कार्यालय उदयपुरका प्रमूख शिवचन्द्र ठाकुर, त्रिनपा–३ की वडा सदस्य हरिमाया शाही र लेखनदास हरि ढुंगानालाई अदालतका आदेशअनुसार पुर्पक्षको लागि कारागार चलान गरिएको हो ।
जिल्ला प्रहरी कार्यलयका अनुसार उनीहरुलाई जिल्ला अदालतको आदेशअनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको छ ।
गत जेठ १६ गते सगरमाथा राजमार्गअन्तर्गत गाइघाट कद्माहा सडकखण्डको त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने सात कट्ठा १९ धुर जग्गा स्थानीय शिवप्रसाद र बुद्धिप्रसाद दाहालले १ करोड ३ लाखमा ललितपुर खोकनाको नेपाल डंगोललाई बिक्री गरेका थिए ।
सडकको जग्गा बिक्री गर्ने किन्ने, सिफारिस गर्ने वडा सदस्य र कृतिम नक्सा बनाउने नापीशाखाका प्रमूख र लेखनदास सबैलाई अदालतको आदेशअनुसार पुर्पक्षको लागि जेल चलान गरिएको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस