सिंहदरवार प्रहरी वृत्तमा मानवअधिकारकर्मीको लावालस्कर, यस्तो छ कारण
काठमाडौं । सरकारले आन्दोलन र धर्ना दिने निश्चित स्थान तोकिदिएको छ । त्यसका विरोधमा नेपाली कांग्रेस निकट युवा विद्यार्थीले दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
आन्दोलनको पहिलो प्रयास नै माइतीघरको निषेधित क्षेत्र तोड्नु हो । तर, मानवअिधकारर्कीहरुले सरकारको नाकै अगाडी धर्ना दिए । सरकार स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले निषेधित क्षेत्र तोडेर धर्नामा सहभागी भएका पहाडीसहित २५ जना मानव अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ ।
मानव अधिकारकर्मीहरुले डा. गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षा गर्नसमेत सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् । मंगलबार पनि सरकारकै ध्यानाकर्षण गर्न सिंहदरबार गेटमा धर्ना दिएका थिए ।
दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेलसहित २५ जनालाई पक्राउ गरेको हो ।
धर्नामा बसेका मानवअधिकारकर्मीले ‘स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधिलाई संरक्षण बन्द गर’ लगायतका प्ले कार्ड प्रदर्शन थिए ।
प्रतिकृया दिनुहोस