टिपर दुर्घटनामा मृतकका परिवारले ५ लाख राहत पाउने
काठमाडौं । सरकारले मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।
गत शुक्रबार दिउँसो करिव साँढे १ बजेतिर मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरहरुको मृत्यु भएको थियो । सोही घटनाबारे सोमबार प्रतिनिधिसभामा जानकारी गराउँदै गृहमन्त्री थापाले घटनाबारे गहिरो शोक पनि व्यक्त गरे ।
उनले दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भईरहेको र उनीहरु खतरामुक्त रहेको पनि जानकारी दिए । दुर्घटनामा परी चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङजाका १, ओखलढुंगाका १, कपिलबस्तुका १ र कैलालीका एक गरी २० जनाको मृत्यु भएको थियो ।
त्यसैगरी गृहमन्त्री थापाले रोल्पाका ८ जनासहित १२ जना घाईतेहरु रहेको पनि जानकारी दिए। सरकारले मृतकहरको शव आफन्तलाई बुझाउन सम्बन्धित जिल्ला पठाइसकेको छ । गृहमन्त्री थापाले सम्बन्धित जिल्लामै पोष्टमार्टमपछि उनीहरुको शव परिवारलई बुझाउने व्यवस्था गरिएको पनि बताए ।
प्रतिकृया दिनुहोस