ओलीको शीरमा लगाइदिए विद्यार्थीले श्रीपेच
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधामन्त्री केपी शर्मा ओलीको शिरमा श्रीपेच लगाइएको फोटोसहितको ब्यानर बोकेर सरकारबिरुद्ध प्रदर्शन गरेको छ ।
प्रधामन्त्री केपी शर्मा ओलीको शिरमा श्रीपेच लगाइएको फोटोसहितको ब्यानर बोकेका नेविसंघ नेता कार्यकर्ताले ‘गोविन्द केसीको माग सम्बोधन गर’ भन्ने नारामा फोकस गरेर प्रदर्शन गरेका हुन् ।
साउन १ देखि काठमाडौंका विभिन्न स्थानमा निषेधित क्षेत्र तोकेको, संस्कृत विश्वविद्यालयका उपकूलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई क्यानडा जान रोक लगाएको, डा. गोविन्द केसी र गंगामाया अधिकारीका माग सम्बोधनमा चासो नदिएको भन्दै विद्यार्थीले माइतीघरमा प्रदर्शन गर्दै ओलीको शीरमा श्रीपेच लगाइदिएका हुन् ।
नेविसंघले कानुनी र प्राज्ञिक क्षेत्रमा सरकारले गरेको हस्तक्षेपविरुद्ध पनि गरेको छ । मूल्य समायोजनको नाममा सरकारले अन्तर्राष्ट्रिय बजारमा मुल्य घट्दा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेविसंघले आन्दोलित हुँदै आएको थियो ।
सरकारले चुनावी आचारसंहिता उलंघन गरी गरेका राजनीतिक नियुक्ति खारेज गरिदिएसँगै कांग्रेस सरकारविरुद्ध आक्रामक बनेको हो । प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष नैनसिंह महरले सरकारले जनविरोधी निर्णय गरेकाले र सर्वसत्तावाद लाद्न खोजेकाले सडक संघर्षमा होमिएको बताए । उनले आन्दोलनलाई चर्काउँदै जाने चेतावनीसमेत दिए ।
प्रतिकृया दिनुहोस