खेर जाने सामाग्रीको पुनः प्रयोग गर्दै इको प्यानल
काठमाडौं । खेर गएर वातावरण प्रदूषण पार्ने इण्डष्ट्रियल वेष्टजको पुनः प्रयोगबाट एउटा कारखानाले बार्षिक करिव १५ लाख रुपैयाँ बचत गर्ने गरेको छ ।
भक्तपुरको चाँंगुनारायण नगरपालिका ९, जगाती हनुमानचास्थित गोर्खा इको प्यानलले निर्माण सामाग्रीको उत्पादनपछि निस्कने इण्डष्टियल वेष्टेजलाई पुनः प्रयोग गरी खोलानालाको प्रदूषणलाई समेत जोगाएको छ ।
धेरै उद्योगहरुले वातावरण प्रदूषण गरिरहेको बेला गोर्खा इको प्यानलले उद्योगबाट निस्केको इण्डष्टियल वेष्टेज (खेर जाने सामाग्री) को पुनः प्रयोग गरी उदाहरणीय काम गरेको हो ।
कारखानाले बैकल्पिक निर्माण सामाग्रीको रुपमा इको प्यानल (स्थायी तथा अस्थायी निर्माणमा गारो अर्थात वालको रुपमा प्रयोग हुने हलुका निर्माण सामाग्री) उत्पादन गर्दै आएको छ ।
बालुवा, सिमेन्ट, थर्माेकोल, क्याल्सियम सिलिकेट बोर्ड, ग्लास फाइबर जस्ता कच्चा पदार्थको प्रयोग गरी इको प्यानल उत्पादन गर्ने गर्दै आएको छ । इको प्यानल बनाउँदा थर्माेकोल, बालुवा तथा सिमेन्टको धुलो वेष्टेजको रुपमा आउने र त्यसलाई पुनः प्रयोग गर्ने कारखानाले जनाएको छ ।
कुल कच्चा पदार्थमध्ये ३ प्रतिशत वेष्टेजलाई कच्चा पदार्थको रुपमा पुनः प्रयोग गर्ने जनाइएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पससँंगको सहकार्यमा अनुसन्धान गरी गुणस्तरमा कुनै ह्रास नहुने पुष्टी भएपछि वेष्टेजलाई पुनः प्रयोग गर्ने गरिएको जनाइएको छ ।
सिमेन्ट, थर्माेकोल सिधै खोलामा मिसिन गए त्यसले त्यहाँ भएको जैविक वस्तुलाई नकारात्मक असर पार्छ । यही कुरालाई मध्यनजर गरी खोलामा नमिसाइकन पुन प्रयोग गरिएको जनाइएको छ ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले नजिकै हनुमन्ते खोला भए पनि खोलामा कुनै वेष्टेज नपठाई पुनः प्रयोग गर्ने गरेको बताउँछन् ।
‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने नारालाई आत्मसाथ गरी वातावरण तथा खोलानालामा कुनै प्रतिकुल असर नपर्ने गरी कारखाना सञ्चालनमा ल्याएका हौं, उनले भने, ‘लामो अध्ययन अनुसन्धानपश्चात पूर्ण वातावरणमैत्री इको प्यानल उत्पादनमा ल्याएका हौ ।’
ख्वप कलेज वातावरण विज्ञानमा स्नातकोत्तर अध्ययन गरेका सन्ध्या थापाले गरेको अनुसन्धानअनुसार एक वर्ग फिट इको प्यानल उत्पादन गर्दा एक दशमलव ८७ मेगाजुल उर्जा खपत हुन्छ भने अरु परम्परागत निर्माण सामाग्री त्यही मात्रामा उत्पादन गर्दा ४४ दशमलव ३ मेगाजुल उर्जा खपत हुन्छ ।
एक वर्गफिट इको प्यानल उत्पादन गर्दा ८१ ग्राम कार्वोनडाइअक्साईड निस्किन्छ भने त्यही मात्रामा अरु सामाग्री उत्पादन गर्दा ८३८ ग्राम कार्वाेनडाइअक्साईड निस्कन्छ ।
काठमाडौं विश्वविद्यालयमा वातावरण इन्जिनियरिङ अध्ययन गरेका दिक्षा ढकालले गरेको अनुसन्धानअनुसार अन्य निर्माण सामाग्रीभन्दा इको प्यानल उत्पादन गर्दा सल्फरडाइअक्साईड सात गुणा कम मात्रै निस्किन्छ ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ प्रोफेसर डा. भरत शर्मा गोर्खा इको प्यानल इन्स्युलेशनको हिसाबले इफिसियन्ट हुनुका साथै इको फ्रेण्डलीसमेत भएको बताउँछन् ।
इको प्यानल वातावरणमैत्री उर्जा (बिजुली) प्रयोग गरी बनाउने भएकाले यो पूर्णरुपमा पर्यावरणमैत्री (इको फ्रेण्डली) हुन्छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमै टेक्नोलोजी इनोभेसन म्यानेजमेन्ट इन इन्जिनियरिङमा स्नातकोत्तर गरेका इन्जिनियर सूर्यमान कोजूको अध्ययनअनुसार इन्स्युलेशनको हिसाबले इको प्यानल अरु परम्परागत निर्माण सामाग्रीभन्दा चार गुणा राम्रो हुन्छ ।
प्रतिकृया दिनुहोस