मन्त्री अधिकारी भन्छन्, मैले कहाँ झोले संस्थालाई पैसा बाँडे र !
काठमाडौं । मन्त्रीले अनावश्यक पैसा बाढेको आरोप लागिरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले झोले संस्थालाई पैसा नबाँडेको स्पष्टीकरण दिएका छन् ।
विनियोजन विधेयकमाथि राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अधिकारीले अन्यत्रबाट आएको कार्यक्रमलाई मन्त्रालयमार्फत् ट्रान्सफर गरिदिएको जानकारी दिए ।
‘पहिला अपारदर्शी खर्च रोक्नुपर्छ भन्ने रवीन्द्र अधिकारी मन्त्री बनेपछि पैसा बाँढ्यो भन्ने कुरा आएको छ । तर मैले बाँडेको होइन’ उनले भने, ‘मेरो मन्त्रालय बाटो पर्छ, त्यही कार्यक्रमलाई ट्रान्सफर गरिदिएको मात्र हो ।’
‘यो निरन्तरको कार्यक्रम हो, पैसा प्रतिष्ठानको खातामा जाँदैन, स्थानीय तहको खातामा जान्छ’ उनले भने, ‘पूँजीगत खर्च गर्न मात्र जान्छ । कार्यक्रम बनाएर आउनुपर्छ, स्थानीय सरकारसँग समन्वय गरेर आउनुपर्छ ।’
मन्त्री अधिकारीले, बीपी, मनमोहन, पुष्पलाल लगायतका संस्थाका लागि सूचीकृत भएर आएका कार्यक्रम मन्त्रालयमार्फत् पैसा ट्रान्सफर गरिएको दावी गरे । यसअघि मन्त्री अधिकारीले विभिन्न झोले संस्थालाई पैसा बाँडेको भन्दै विरोध भएको थियो ।
मन्त्री अधिकारीले विभिन्न संस्था र प्रतिष्ठानमा गएको पैसा पूँजीगत खर्चका स्थानीय सरकारको खातामा जाने तर ती संस्थाको खातामा नबस्ने बताए । विभिन्न संघ संस्था र प्रतिष्ठानका लागि दिइने अनुदान संस्कृति पर्यटन मन्त्रालयमार्फत जाने गरेको उनले जानकारी गराए ।
प्रतिकृया दिनुहोस