धनपुरीको रित्तियो काख, शोकमा डुब्यो थवाङको पुसगाउँ
रोल्पा । मुस्ताङमा भएको टिप्पर दुर्घटनामा रोल्पाको थबाङका एकै घरपरिवारका ६ जनाको मृत्यु हुँदा सिंगो गाउँ नै शोकमा डुबेको छ ।
थबाङ गाउँपालिका–५ उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको छ । उनका छोराहरू ३३ वर्षीय कमानसिंह, २३ वर्षीय राष्टे, १९ वर्षीय महेश र छोरी कर्मजिताको मृत्यु हुँदा उनी सम्हालिन नसक्ने अवस्थामा पुगेकी छन् ।
एकैघरका आधा दर्जन सहितको मृत्युको खबरले सबैलाई रुवाएको छ । फोन सेवाको समूयाले आफन्तले राम्रोसँग घटना बुझ्नसमेत पाएका छैनन् ।
राष्टेकी पत्नी लिला रोकालाई सम्हालिन गाह्रो भएको छ । आफ्नो परिवारका ६ जनासहित ११ जनाको मृत्युको खबर सुनेपछि उनी विक्षिप्त बनेकी छन् । उनी दाङको भालुबाङमा छोरालाई पढाउन कोठा भाडामा लिएर बसेकी छन् । पाँच वर्षको छोरा नर्सरीमा पढ्छन् ।
‘मेरा पति (राष्टे) तीन वर्ष मलेसिया बसेर घर फर्किनु भएको थियो । वैशाख २३ गते मजदुरी गर्न जानु भएको हो’, लिलाले भनिन्, ‘कमाएर आउँछु भन्नुहुन्थ्यो । मृत्युको खबर सुन्नुपर्याे ।’
मजदुरीका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन् । धनपुरीका पतिकी जेठी पत्नीबाट जन्मिएका छोरी जितमाया र जेठा छोरा कुमारकी छोरी सिर्जना रोकाको पनि सोही घटनामा मृत्यु भएको छ ।
घटना सुनेपछि सन्तानविहीन बन्न पुगेकी धनपुरी होसमा छैनन् । बुढ्यौली अवस्थामा पुगेका उनीहरू आँसुमा डुबेका छन् । थबाङ गाउँपालिका–१ थबाङका ३६ वर्षीय मौसम रोकाको मृत्यु भएको छ । सोही ठाउँका २८ वर्षीय सुकमान रोकाको पनि मृत्यु भएको छ । उवा पुसबाङका जितकुमारी र सुनछहरी गाउँपालिका–१ सेरमका ३२ वर्षीय सुन्तु घर्ती र ३२ वर्षीय राजकुमार पुनको मृत्यु भएको छ ।
कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत मुस्ताङको स्याङ्बोचेमा शुक्रबार दिउँसो टिपर दुर्घटना भएको थियो । अस्थायी शिविरबाट खाना खाएर कार्यथलोतिर जाँदा लो–ध्याकर दामोदरकुण्ड गाउँपालिका–३ मा बा२क २२१९ नम्बरको टिपर सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परी थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनाको मृत्यु भएको थियो भने रोल्पाका मात्रै ११ जनाले ज्यान गुमाएका थिए ।
प्रतिकृया दिनुहोस