मन्त्री नै भन्छन्, दुधमा सोडा हालेकै हो
काठमाडौं । व्यवसायीहरुले दुध र पानीमा कुनै मिसावत नगरेका दावी गरिरहँदा सरकारले नै दुध कोलिफार्म र सोडा भेटिएको स्पष्ट पारेको छ ।
कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले काठमाडौंका विभिन्न ४२ वटा दुधका नमूना संकलन गरी परिक्षण गर्दा सबैमा बदमासी गरेको पाइएको दावी गरेका छन् ।
‘४२ वटा नमूनामा परिक्षण गर्दा धेरैजस्तो दुधमा दुध नफाटोस् भनेर सोडा प्रयोग गरेको पाईयो’, उनले भने, ‘उपभोक्ताले स्वच्छ दुध पिउन पाउनुपर्छ, उपभोक्ताको स्वच्छ खान पाउने अधिकारलाई बन्चित गर्न पाइँदैन ।’
मन्त्री खनालले जार र मिनरल वाटर लगायतका पिउने पानीमा समेत कोलिफार्म भेटिएको बताए । उनले पानीमा देखिएको खराबीमा आफूहरुले दिएको निश्चित समयसीमाभित्र पनि सुधार नगरे बाध्य भएर पानी उद्योगमा तालाबन्दी गर्ने पनि चेतावनी दिए ।
‘पानीको ४२ वटा नमूना लिँदा झण्डै ३९ नमूनामा कोलिफार्मको मात्रा भेटिएको थियो’, मन्त्री खनालले भने, ‘ यसलाई पनि शुन्यमा झार्नुपर्छ’ भनेर मन्त्रालयमा गठित अनुगमन संयन्त्रलाई निर्देशिका तत्काल लागु गर्न मैले निर्देशन समेत दिएको छु ।’
मन्त्री खनालले आगामी तीन महिनाभित्र सुधार नभए निर्देशिका बमोजिम जनताको स्वास्थ्यमा खेलबाड गर्नेलाई आवश्यक कारबाही गर्ने उनको चेतावनी दिए । यद्धपी उनले अहिले बजारमा हल्ला भएजस्तो दुधमा युरिया भने नभेटिएको दाबी गरे ।
मंगलबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा मन्त्री खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने चेतावनी पनि दिएका छन् ।
आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको पाएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन् ।
‘भदौसम्मपनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिईएको छ’ उनले भने, ‘त्यति गर्दापनि कुनै सुधार भएन भने बजार हटाईन्छ ।’
उनले कालिमाटी फलफुल तथा तरकारी बजार स्थलमा रहेका स्टलहरु समितिले निर्धारण गरेको मुल्यभन्दा दशौं गुणा बढी लिइएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको दावी गरे ।
‘समितिसँग १० हजारमा स्टलहरु लिएर ती व्यक्तिहरुले उक्त स्टलहरु आफूले नचलाईकन दशौं गुणा बढी पैसा लिएर अरुलाई चलाउन दिइएको भेटियो’ उनले भने, ‘१० हजार पर्ने स्टल एक लाख १० हजारसम्म लिएको भेटियो, यो हदैसम्मको लापरवाही हो ।’ उनले कतिपय स्टलहरुमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका वस्तुहरु समेत राखिएको उनको गुनासो छ ।
प्रतिकृया दिनुहोस