बाढीपहिरोको कहर : १४ को मृत्यु, प्रदेश ५ मा सबैभन्दा बढी क्षति

Badhi 19

काठमाडौं । केही दिनदेखि लगातार परेको वर्षाका कारण १४ जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी प्रदेश ५ मा मात्र ८ जनाको मृत्य भएको छ । त्यसमध्ये बाँकेमा ४ जनाको मृत्यु भएको छ । रोल्पामा ३ र दाङमा १ जनाको मृत्यु भएको छ ।

पानीको कारण देशभर बाढीपहिरोको उच्च जोखिम बढेको छ । बाढी पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

त्यसैगरी सर्लाहीको हरिवन नगरपालिकाको लखनदेही खोलाको बाढीले बगाउँदा ४० वर्षीय धनबहादुर लोप्चनको ज्यान गएको छ । हरिवन खोलाले बगाउँदा टेकबहादुर विकको ज्यान गएको छ । लखनदेही खोलामा आएको बाढीले बगाउँदा बरहथवा नगरपालिका १६ का ६५ वर्षका बलदेव महतो बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यता, पर्सा जिल्लामा बाढीले बगाउँदा १ जना विद्यार्थीको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । बाढीले बगाएर पर्सागढी नगरपालिका ४ का जादोलाल रामकी छोरी १५ वर्षीया छोरी प्रतीमाकुमारी रामको मृत्यु भएको हो । बाढीले बगाएको उनको शव बगरमा भेटिएको थियो । बाढीले बगाएका पर्सागढी ८ का १५ वर्षीय सुरेन्द्र महतोको अवस्था भने अज्ञात छ ।

यस्तै बाढीले बगाएका सोही गाउँकी १५ वर्षीया संगीता चौरसिया र सोही उमेरका सुमन पासवानको भने स्थानीयले उद्धार गरेका छन् । विद्यालयबाट एकै साथ घर फर्किने क्रममा प्रतिमालाई बाढीले बगाएपछि उनलाई उद्धार गर्न भन्दै अरु ३ जना साथी नदीमा हाम फाल्दा उनीहरूलाई पनि बाढीले बगाएको थियो ।

कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण कैलालीको गोदावरी नगरपालिका ९ धनचौरीमा घर भत्किएर पुरिदा की ६२ वर्षीया दुथा रानाको मृत्यु भएको छ । उनका श्रीमान ६५ वर्षीय कडेवा राना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

काठमाडौंमा १ जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलाले बताउँदा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी बाँकेमा क्षति
बाँकेमा सबैभन्दा बढी जनको क्षति भएको छ । बाँकेमा बाढीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ। बाढीमा परी बैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिकामा १ र डुडुवा गाउँपालिकामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रमुख टेकबहादुर तामाङका अनुसार जेठी खोलाले बगाएर बैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलाराम बुढा र ज्वालिपुर नालाले बगाएर बैजनाथ–५ का ३५ वर्षीय लोकबहादुर सुनारको मृत्यु छ । बिहान बाढीमा बगेर बेपत्ता भएका बुढाको शव दिउँसो मात्र भेटिएको थियो ।

त्यसैगरी कोहलपुर नगरपालिका–४ गौवागाउँ निवासी ४ वर्षीय रञ्जित पासी र डुडुवा गाउँपालिका–२ निवासी ४ वर्षीया रिमाकुमारी यादवको मृत्यु भएको छ । उनीहरुको घरअगाडि जमेको पानीमा परेर मृत्यु भएको हो ।

यता, रोल्पाको दक्षिणी भेगको सैबाङ गाउँमा पानीले गलेर पुरानो पर्खाल भत्किँदा १८ महिने शिशुसहित ३ जनाको मृत्यु भएको हो । भान्छा कोठामा आगो तापेर बसिरहेका सुत्केरीसहित ३ जना पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–५ सैबाङकी १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको १५ वर्षीया छोरी चित्रा विश्वकर्मा रहेका छन् ।

दाङको बबई गाउँपालिका ५ बस्ने सेतुराम वली खेतमा मृत फेला परेका छन् । उनको मृत्युको कारण भने खुलेको छैन ।

तनहुँमा एकको मृत्यु, एक बेपत्ता
तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ स्थित क्याङ्दी खोलाले सोमबार साँझ बगाउँदा १ जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा शुक्लागण्डकी– ११ का ५१ वर्षीय नीलबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए ।

बेपत्ता हुनेमा भिमाद नपा– ८ का ५७ वर्षीय यमबहादुर कुमाल छन् । खोला तर्ने क्रममा दुवैलाई बगाएको थियो ।

झापादेखि बर्दियासम्मै डुबानमा
तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ । पहाडी क्षेत्रका थुप्रै ठाउँमा पहिरो गएका छन् ।

राजधानी जोड्ने पृथ्वी राजमार्गको ठाउँ–ठाउँमा पहिरो खसेको छ । कर्णाली राजमार्ग पनि बन्द भएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरू पूर्वको विराटनगर, इटहरी, जनकपुर क्षेत्र, वीरगञ्ज, बुटवल, नेपालगञ्जको जनजीवन भारी वर्षाका कारण प्रभावित भएका छन् ।

बुधबारबाट मौसममा सुधार
बुधबारबाट देशभरको मौसममा सुधार आउने मौसमविद्हरुले बताएका छन् ।

मौसमविद बरुण पौडेलका अनुसार भोलि (बुधबार)देखि ठूलो वर्षा हुनेक्रम रोकिने छ भने मौसममा पनि सुधार आउने छ ।

अहिले पनि मनुसुन सक्रिय छ । पानी नै पर्दैन भन्ने होइन । फाट्टफुट्ट वर्षा त भइरहन्छ । तर बुधबारदेखि दुई/तीन दिन मौसम सुधार हुने उनको अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...