काठ चोरीको आरोप प्रहरी निरीक्षक बोहरालाई
डोटी । डोटी जिल्लाको वीपीनगर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक नृपबहादुर बोहरालाई स्थानीयले अवैध सिसौको काठ बोकेको ट्रयाक्टरसहित नियन्त्रणमा लिएपछि उनी जिल्लामा तानिएका छन् ।
सोमबार राति प्रहरी निरीक्षक बोहराले काठ तस्करी गरेर धनगढीतर्फ लैजाँदै गरेको सूचनाका आधारमा स्थानीय युवाले उनलाई नियन्त्रणमा लिएको बडिकेदार गाउँपालिका–१ का वडाध्यक्ष डम्बरबहादुर बोहराले बताए ।
काठ चोरी गर्नमा प्रयोग गरिएको से१ त५१८९ नंको ट्याक्टर समेत स्थानीयले नियन्त्रणमा दिएका छन् ।
स्थानीयहरुका अनुसार प्रहरी निरीक्षक बोहराले ६ वटा सिसौका गोलिया ट्याक्टरमा लोड गरेर लैजाँदै गरेका थिए । उनले काठ लोड गर्नमा समेत प्रहरीलाई नै प्रयोग गरेको स्थानीयहरुको आरोप छ ।
बरामद गरेको काठ र ट्रयाक्टर अहिले विपीनगर प्रहरी चौकी नजिक राखिएका छन् ।
काठ चोरीको आरोप लागेका प्रहरी निरीक्षक बोहरालाई कारबाहीको माग राख्दै स्थानीयले इलाका प्रहरी कार्यालय विपीनगरमा धर्नासमेत दिएका छन् ।
स्थानीयहरुले इलाका वन कार्यालय, वीपीनगरमा प्रहरी निरीक्षक बोहराविरुद्ध काठ चोरीको मुद्दा दर्तासमेत गराएका छन् ।
जिल्ला वन कार्यालय डोटीका सहायक वन अधिकृत सुरेश रोकायले आफूले घटनाका बारेमा बुझिरहेको बताए । उनले काठ चोरेको प्रमाणित भएमा अवैध काठ ओसार–पसार कसुरमा कारबाही हुने बताए ।
सात नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिराज वाग्लेले घटनाका बारेमा थाहा पाएलगत्तै प्रहरी निरीक्षक बोहरालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको बताए । उनले अहिले उक्त स्थानमा प्रहरी उपरीक्षक ध्रुवबहादुर विष्टलाई पठाएको जानकारी दिए ।
एसएसपी वाग्लेले घटनामा प्रहरी निरीक्षक बोहोराको संलग्नता देखिए उनलाई विभागीय कार्बाही गरिने बताए ।
चोरीमा संलग्न प्रहरीले उल्टै धम्की दिइरहेको स्थानीय टेकबहादुर बोहराले गुनासो गरे । उनले जनतालाई सुरक्षा दिनु पर्ने प्रहरी आफैं चोरीमा संलग्न हुने अनि घटना सार्वजनिक भएपछि उल्टै धम्की दिनु कानुनी राज्यको उपहास भएको बताए ।
प्रतिकृया दिनुहोस