चाँदी नदीको परिवर्तनले चन्द्रपुर नगरपालिका क्षेत्र बगाउने खतरा
रौतहट । चन्द्रनिगाहपुर चोकबाट उत्तरतर्फ रहेको चाँदी खोलाले धार परिवर्तन गरेपछि चन्द्रपुर नगरपालिकाको क्षेत्र बगाउने खतरा बढेको छ ।
पूर्वी क्षेत्रबाट बग्ने खोला पछिल्लो समय धार परिवर्तन गरी पश्चिमतिर मोडिएर कटान गर्न थालेपछि त्रास बढेको हो । स्थानीयले कटान रोक्न माग गर्दै तटबन्ध र स्पर आवश्यक रहेको बताएका छन् ।
यसले पश्चिम क्षेत्रमा निरन्तर कटान गर्दै आएको छ । जिल्ला भूसंरक्षण कार्यालयले कटान रोक्न २० वटा स्पर निर्माण गरेको छ । अझै २० वटा स्पर आवश्यक रहेको स्थानीय खिला लामिछानेले बताए ।
उनी अध्यक्ष रहेको उपभोक्ता समितिले अहिले झन्डै १ किलोमिटरसम्म अस्थायी ड्याम बनाइरहेको छ । जलउत्पन्न प्रकोप विभागको बजेटबाट ड्याम निर्माण भइरहेको हो ।
‘निर्माणको काम हँुदै गर्दा बजेट अभावले बन्द हुन लागेको छ,’ उनले भने, ‘यत्रो ठूलो समस्या छ । कटान रोक्न ड्याम निर्माण गर्न चाहिने बजेट उलपब्ध हुँदैन ।’ समितिले जम्मा १० लाखमा ड्यामको काम सुरु गरेको थियो । नदीमा बन्दै गरेको पुल निर्माणको कामले खोलाले धार परिवर्तन गरेको छ । १० वर्षअघि नदीले खैरा बस्ती नै कटान र डुबानम पारेको थियो ।
त्यसपछि सिंगो बस्ती नै विस्थापित भएको थियो । त्यहाँका ठूलो संख्यामा मानिस विस्थापित भएका थिए । खेतीयोग्य जमिन कटानमा गरेको थियो ।
मरधरदेखि दक्षिणका गाउँमा चाँदीको कटानले वर्षेनी समस्या पार्दै आएको छ । यसको स्थायी रोकथाम हुनुपर्ने भन्दै कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले प्रतिनिधि सभामै कुरा उठाएका थिए ।
‘लालबकैया, बागमती र चाँदी नदीले वर्षेनी कटान डुबान पार्दै आएको छ,’ सांसद तिमल्सिनाले भने, ‘गाउँ बस्ती डुबान, कटान र मानवीय क्षति भएपछि मात्र सरकार तात्छ । अनि राहतको कुरा गर्छ ।’
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले चाँदी बागमती र लालबकैया नदीको कटान रोक्न स्थायी रूपमा ड्याम,तटबन्ध वा स्पर निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । उनले कटान रोक्न चासो देखाएका थिए । गृह जिल्ला आउँदा नेता नेपालले तिनै नदीका बारेमा स्थानीय प्रशासनसित जानकारी लिने गर्छन् ।
प्रतिकृया दिनुहोस