ओखरपौवामा भास्सिंदै फोहोरको पहाड, फोहोरले निस्सासियो काठमाडौं
काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन गरिंदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइट चुलिएसँगै राजधानीका सडक, चोक र घर–घरमा फोहोरको डंगुर थुप्रिन थालेका छन्।
ल्यान्डफिल साइटमा बनेको ‘फोहोरको पहाड’ भास्सिन थालेकाले सातायता काठमाडौं, ललितपुर र भक्तपुरबाट फोहोर बोकेर पुगेका टिपर ‘फोहोरको पहाड’ चढ्न सकिरहेका छैनन् ।
ल्यान्डफिल साइटमा फोहोर फाल्न रोकिएपछि राजधानीका सार्वजनिक स्थलमा पनि थुप्रो बढ्दै गएको छ । काठमाडौं र ललितपुर महानगरले फोहोर संकलन गर्ने टेकु र बालकुमारीमा पनि फोहोर थुप्रिएर दुर्गन्ध फैलिएको छ ।
महानगरले संकलन केन्द्रमा जम्मा गरेर तथा अन्य संघसंस्था र निजी क्षेत्रले राजधानीका विभिन्न ठाउँमा फोहोर संकलन गरेपछि ओखरपौवा पठाउने गर्छन् ।
महानगरले सडक र चोकको फोहोर उठाउँछ भने संघसंस्था र निजी क्षेत्रले घरको फोहोर शुल्क लिएर जम्मा गर्छन् ।
सिसडोलमा परीक्षणका रूपमा फोहोर फाल्न १३ वर्षअघि खाल्डो बनाइएको थियो । ३ वर्षका लागि खनिएको खाल्डो पुरिएर अहिले ७ सय ४० रोपनी क्षेत्रफलमा फोहोरको पहाड खडा भएको छ । यसअघि पनि यस्तै समस्याका कारण भ्याली १, २ र ३ नाम दिएर औखरपौवा आसपासकै क्षेत्रमा फोहोर व्यवस्थापन गरिएको थियो।
दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्ने भनेर छनोट गरिएको ककनी गाउँपालिका–२ कै बञ्चरेडाँडा क्षेत्रमा पूर्वाधार निर्माण हुन नसक्दा पटक–पटक फोहोरको समस्या आएको हो । बञ्चरेडाँडामा १ हजार ७ सय ९२ रोपनी जग्गा छनोट भएको छ।
त्यहाँसम्म पुग्न कोल्पु खोलामा पुल निर्माण गरे पनि अन्य पूर्वाधार बन्न नसकेको काठमाडौं महानगरले जनाएको छ । ओखरपौवा प्रहरीका अनुसार सिसडोलबाट २ किलोमिटर पर बञ्चरेडाँडा पुग्ने सडक पनि गाडी गुड्न सक्ने हालतमा छैन । राजधानीको बालाजु बाइपासदेखि तीन पिप्लेसम्मको करिब २८ किलोमिटर सडकखण्ड पनि जीर्ण छ।
बञ्चरेडाडाँमा पूर्वाधार निर्माणमा कम्तीमा ३ वर्ष लाग्ने काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन इन्चार्ज सरकारदीप श्रेष्ठले बताए । उनका अनुसार प्राविधिकले अध्ययन गरेर वर्षातमा अहिलेको स्थानमा फोहोर नफाल्न सुझाव दिएका थिए । ‘अन्यन्त्र फोहोर फाल्ने ठाउँ नहुँदा जबर्जस्ती यहीँ जम्मा पार्ने गरेका हौँ,’ उनले भने । नियमित फोहोर उठ्दा १ सय ५० देखि २ सय टिपर हुन्छ।
पछिल्लो समय दैनिक ५०/६० टिपरमात्रै त्यहाँ पुग्दा राजधानीमा फोहोरको डंगुर लाग्न थालेको हो । १३ वर्षअघि काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र कीर्तिपुर नगरपालिकाबाट दैनिक २ सय ५० टन मात्र त्यहाँ पुर्याइयो । हाल दैनिक १ हजार बढी टन फोहोर व्यवस्थापन गर्नुपर्दा कठिनाइ भएको हो ।
प्रतिकृया दिनुहोस