अदालतको आदेश अटेर गर्दै नदीबाट ढुंगा, गिटी, बालुवा झिक्न रोकिएन
अदालतको आदेश अटेर गर्दै नदीबाट ढुंगा, गिटी, बालुवा झिक्ने
काठमाडौं । २ महिनाअघि उच्च अदालत पोखराको बागलुङ इजलासले कालीगण्डकी दोहन रोक्न परमादेश जारी गर्यो ।
प्रशासन कार्यालयलाई अनुगमन गर्न र स्थानीय तहलाई दोहन रोक्ने कानुन बनाउन आदेश दियो । अदालतको आदेश अटेर गर्दै नदीमा एक्साभेटर लगाएर ढुंगा, गिटी र बालुवा झिक्न भने रोकिएको छैन । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले मध्यरातमा पनि नदी दोहन भइरहेको र प्रहरी मूकदर्शक बनेको बताए ।
आर्थिक वर्षको अन्त्यमा प्रहरीले देखाउनैका लागि एक युवालाई राति बालुवा भिक्दै गर्दा पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिलाई समन्वय समितिले ५० हजार जरिवाना गराएर छाडेको छ । ठेकेदारहरूले भने सम्झौता नगरेरै बालुवा झिकिरहेका छन् । दर्जनौं स्थानमा अव्यवस्थित दोहन गर्दासमेत प्रशासन मूकदर्शक बनेको छ ।
बागलुङ नगरमा प्रदूषित पानी वितरण गरिरहेको नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई पनि अदालतले साताभित्रै शुद्ध पानी वितरणको आदेश दियो । तीन साता बित्दा पनि पानी शुद्ध पार्ने तयारीसमेत गरिएको छैन । नगरवासी रेश र लेखानीस्थित भुँदी खोलाबाट ल्याएको धमिलो पानी पिउन बाध्य छन् ।
धमिलो र खोलाबाट सिधै ट्यांकीमा ल्याएको पानी घरघर पुग्छ । ट्यांकी माटोको लेदोले भरिएको छ । ‘पानी आयो भनेर सिधै ट्यांकीमा हालियो, माटो र बालुवाले भरिन लागिसक्यो,’ रामबहादुर केसीले भने, ‘प्रदूषित पानी खाएर बिरामी परे को दोषी हुन्छ ?’ उपभोक्ताले पानी छानेपछि उमालेर खान बाध्य भएको गुनासो गरे ।
निर्माण सकेर हस्तान्तरण गरिसकेकाले शुद्ध बनाएर खुवाउने जिम्मा संस्थाले नै लिनुपर्ने डिभिजन प्रमुख शेखरचन्द्र केसीले बताए । ‘हामीले पटकपटक निर्देशन दिएका छौं, अदालतले पनि आदेश दियो, पालना गर्ने काम संस्थाको हो,’ उनले भने, ‘अहिलेसम्म बागलुङ बजार र बलेवा क्षेत्रमा मध्यमस्तरको पानी खुवाउने व्यवस्था गरेका हौं ।’ अन्य सबै स्थानमा सामान्य र परम्परागत मुहानको पानी खुवाइएको छ ।
बजारमा भने शुद्धीकरण विधिबाट खुवाउने जिम्मा दिइएको उनले बताए । बजारका लागि ल्याएको पानीको ट्यांकीमा फोहोर जमेको, झारपात खसेको र किराफट्यांग्रा मरेको देखिन्छ । ‘वर्षातपछि पानीलाई शुद्धीकरण गरेर खुवाउने तयारी गरेका छौं,’ संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले भने ।
प्रतिकृया दिनुहोस