बनाउँदा बनाउँदैको पुल भत्किएपछि प्राविधिक र उपभोक्ता समितिबीच आरोप प्रत्यारोप
सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ स्थित मैनावती खोलामा निर्माणाधीन ४५ लाख रुपैयाँ लागतको पुल भत्किएपछि पुल निर्माणको जिम्मेवारी लिएको उपभोक्ता समिति र प्राविधिकबीच आपसमा आरोप–प्रत्यारोप चलेको छ ।
गोलबजार नगरपालिका–२ को पर्यटकीय स्थल कुम्भीखाडी तालसम्म पुग्ने पुल राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको आर्थिक सहयोगमा गोलबजार नगरपालिकामार्फत निर्माण भइरहेको थियो । उपभोक्ता समितिमार्फत बनिरहेको पुल वैशाख २ गते सम्झौता गरिएको थियो ।
असार १५ गतेभित्रै निर्माण सम्पन्न भइसक्नुपर्नेमा असार ९ गते शनिवार आएको बाढीले पुलको पुर्वी भाग भत्काएपछि पुल निर्माणमा अनियमीतता तथा लापरबाही भएको भन्दै उपभोक्ता समिति तथा प्राविधिकबीच एकआपसमा आरोप प्रत्यारोप चलिरहेको हो ।
उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर सुनवारले आफूहरुले समितिले दिएको डिजाइन स्टिमेटकै आधारमा काम गरेपनि पुल भत्केकोमा आफूहरुको कुनै गल्ती नभएको जिकिर गरेका छन् । उनले समितिले खटाएको इञ्जिनियरकै निर्देशनमा प्रत्येक काम गरिएकोले गल्तीको जिम्मेवारी पनि इञ्जिनियर चौधरीले नै लिनुपर्ने बताए ।
पुल निर्माणका लागि राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले बजेट खर्च गर्ने अख्तियारी गोलबजार नगरपालिकालाई दिएको थियो भने पुलको प्राविधिक कार्यको देखरेखको जिम्मेवारी लहान स्थित जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय नं. ४ का इञ्जिनियर रामकृपाल चौधरीलाई दिइएको थियो ।
साइड इन्जिनियरको रुपमा खटिएका इन्जिनियर चौधरीले पुलको छेउमा उपभोक्ता समितिले बचावटको काम गर्न नसक्दा पुलको पुर्वी र पश्चिम भागमा बाढीले क्षति पु¥याएको जानकारी दिए ।
स्थानीय रञ्जित कुमार साहले पुल निर्माण गर्दा त्यसमा प्रयोग गरिएको रड पातलो भएको र अन्य सामग्रीहरु गुणस्तरहीन भएको उल्लेख गर्दै पुल निर्माणको क्रममा एप्रोच ढलानको समयमा दुई वटा बोल्डरयुक्त जाली बनाएर ढलान गर्नुपर्नेमा एउटा मात्रै जाली ढलान गरेकाले पुल भत्किएको हुनसक्ने भएकाले यससम्बन्धमा गहन छानवीन गर्नुपर्ने बताए ।
निर्माणाधीन अवस्थामै भत्किएको पुल यथाशीघ्र निर्माण गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले निर्देशन दिएका छन् । उनले जुनसुकै कारणबाट भत्किएको भए पनि पुल निर्माणमा तदारुकता देखाउन नगरपालिकालाई निर्देशन दिइएको बताए ।
प्रतिकृया दिनुहोस