कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष सिरोहिया, गाडीमा लगियो धनुषा

Kailash sirohiya

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ । सिरोहियालाई पक्राउलगत्तै गाडीमै धनुषा लगिएको छ ।

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।

दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार अनुमति दिएको थियो । धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले नागरिकता प्रकरणमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिएका थिए ।

सिरोहियाले हिमालय रि-इन्स्योरेन्स कम्पनीको शेयर लगन लिने क्रममा उद्योग विभागमा दिएको निवेदनसहितको कागजमा नागरिकता नम्बर २८३९८८८६ रहेको थियो । तर उनैले २०३३ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट निकालेको नागरिकता नम्बर ३९६९८८८६ थियो । जसको पहिलो प्रतिलिपि २०५७ सालमा निकालिएको थियो ।

सिरोहियाले लिएको नम्बर सहितको नागरिकता धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ । शिवजी र कैलाश दुवैको नागरिकता नम्बर एकै रहेको विवरण पनि मतदाता नामावलीमा भेटिएको थियो । नागरिकता नम्बर टाइप गर्ने बेला गल्ती भएको मान्ने हो भने अर्को नम्बरको प्रश्न उठाइएको छ ।

जुन नागरिकता नम्बर सिरोहियाको छ, त्यही नम्बरको नागरिकता धनुषा जिल्ला प्रशासन कार्यालयबाटै शिवजी साहु तेलीका नाममा जारी भएको देखिन्छ । दुवै जनाको मतदाता नामावलीमा उल्लेखित नागरिकता नम्बर पनि एउटै रहेको देखिएपछि छानबिन अघि बढेको थियो ।

सिरोहियाले राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै पनि प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर मिडिया ग्रुप विचलित नहुने पनि बताएका थिए । ‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु,’ सिरोहियाले भनेका थिए, ‘तर, राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । सिरोहियाविरुद्ध सर्लाही निवासी इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

राष्ट्रिय दलित पत्रकार संघको पाँचौं स्थापना दिवस सम्पन्न, काठमाडौंमा ३ पत्रकार सम्मानित

Dalit patrakar news

काठमाडौं । दलित समुदायका सञ्चारकर्मीहरुको साझा संस्था राष्ट्रिय दलित पत्रकार संघ नेपालले पाँचौं स...